गान्तोक: सिक्किम सरकारको निर्वाचन विभाग अन्तर्गत मुख्य निर्वाचन अधिकारीको कार्यालयले विशेष सघन पुनरीक्षण (एसआईआर) २०२६ – चरण ३ को अवधिमा उत्कृष्ट कार्य गर्ने विभिन्न तहका निर्वाचन अधिकारीहरूलाई पुरस्कृत गर्ने एक सराहनीय योजना अघि सारेको छ। निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न र एक शुद्ध एवं त्रुटिरहित मतदाता सूची तयार पार्न अहोरात्र खट्ने अधिकारीहरूको अथक प्रयासलाई कदर गर्दै यो पुरस्कारको घोषणा गरिएको हो। प्राप्त जानकारी अनुसार, आगामी राष्ट्रिय मतदाता दिवस (एनभीडी) २०२७ को भव्य समारोहमा यी पुरस्कारहरू वितरण गरिनेछ। यस योजनाले निर्वाचन कार्यमा संलग्न अधिकारीहरूको मनोबल बढाउने र काममा अझ बढी व्यावसायिकता अनि समर्पण भाव जगाउने उद्देश्य राखेको छ।
पुरस्कारको श्रेणी अन्तर्गत राज्यका जिल्लाहरूमध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला निर्वाचन अधिकारी (डीईओ) लाई उनीहरूको समग्र नेतृत्व र व्यवस्थापनको आधारमा चयन गरिनेछ। यसैगरी, प्रत्येक जिल्लाबाट एक-एक जना उत्कृष्ट निर्वाचन दर्ता अधिकारी (ईआरओ) को छनोट गरिने भएको छ, जसका लागि मतदाताहरूको सही म्यापिङ, अधिकतम योग्य मतदाताहरूको दर्ता, त्रुटिरहित मतदाता सूचीको अद्यावधिक, दाबी र आपत्तिको समयमै फ्याँडफ्याँडो तथा बीएलओहरूको प्रभावकारी सुपरीवेक्षण जस्ता कडा मापदण्डहरू तोकिएका छन्।
यसका साथै, एसआईआर २०२६ को सफल कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुर्याउने प्रत्येक जिल्लाका एक-एक जना सहायक निर्वाचन दर्ता अधिकारी (एईआरओ) लाई पनि यो पुरस्कार प्रदान गरिनेछ। आवेदनहरूको समयमै जाँचबुझ, दाबी-आपत्ति प्रक्रियामा सहयोग र फिल्ड अधिकारीहरूसँगको उत्कृष्ट समन्वयलाई यसको मुख्य आधार बनाइएको छ।
राज्यभरिबाट उत्कृष्ट कार्य गर्ने १५ जना बुथ स्तरका अधिकारी (बीएलओ) हरूलाई पनि राज्य स्तरमा चयन गरिनेछ। यसमा प्रत्येक जिल्लाका डीईओहरूद्वारा २-२ जना र सीईओ कार्यालयद्वारा ३ जना बीएलओ चयन हुनेछन्। बीएलओ चयनका लागि फारमहरूको समयमै वितरण, संकलन, अधिकतम म्यापिङ, मतदाता सूचीमा शून्य त्रुटि र फिल्ड रिपोर्टहरूको समयमै प्रस्तुतिलाई हेरिनेछ। यस पटक प्रविधिको प्रयोगलाई जोड दिँदै घर-दैलो अभियान, बीएलओ प्रशिक्षण र मतदाता सचेतना कार्यक्रमहरूको भिडियो रील्समार्फत उचित दस्तावेजीकरण गर्ने तथा ‘मेरो भारत, मेरो भोट’ वा ‘एसआईआर २०२६’ विषयमा छोटो र प्रभावकारी भिडियो निर्माण गर्नेहरूलाई विशेष प्राथमिकता दिइनेछ, जसको मूल्याङ्कन सन्देशको स्पष्टता र सामाजिक सञ्जालमा पहुँचको आधारमा गरिनेछ।
विजेताहरूलाई राष्ट्रिय मतदाता दिवस २०२७ को अवसरमा नगद पुरस्कार र प्रशंसा पत्र सहित सम्मानित गरिनेछ। यसका साथै, उत्कृष्ट ठहरिएका भिडियो र अवेयरनेस रील्सहरूलाई निर्वाचन विभागको आधिकारिक सामाजिक सञ्जालहरूमा पनि स्थान दिइनेछ। निर्वाचन विभागको यस पहलले आगामी दिनहरूमा राज्यको निर्वाचन प्रक्रियालाई अझ बढी पारदर्शी, प्रविधिमैत्री र सशक्त बनाउने विश्वास राखिएको छ।











