सोरेङ: सोरेङ जिल्लामा स्वच्छ, सटीक र पूर्ण रूपले अद्यावधिक मतदाता नामावली सुनिश्चित गर्ने उद्देश्यका साथ भारत निर्वाचन आयोग (ईसीआई) को निर्देशानुसार सुरु गरिएको मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ को चौथो दिन अर्थात् मङ्गलवार जिल्लाभरि कुल ५,११२ वटा गणना फारामहरू वितरण गरिएको छ।
निर्वाचन क्षेत्र अनुसार वितरण गरिएको फारामको विवरण यस प्रकार छ:
रिञ्चेनपोङ निर्वाचन क्षेत्र: १,२५२ फाराम
दरामदिन निर्वाचन क्षेत्र: १,२०३ फाराम
सोरेङ-च्याखुङ निर्वाचन क्षेत्र: १,१४२ फाराम
सालघारी-जूम निर्वाचन क्षेत्र: १,५१५ फाराम
प्राप्त जानकारी अनुसार, बुथस्तरीय अधिकारी (बीएलओ) हरूद्वारा गरिने यो घरदैलो भ्रमण तथा प्रमाणीकरण अभियान आगामी २८ जून २०२६ सम्म निरन्तर जारी रहनेछ। अभियान अवधिभरि बीएलओहरू प्रत्येक घर-घरमा पुगेर गणना फारामहरू वितरण गर्नेछन् र मतदाताहरूलाई उनीहरूको निर्वाचन विवरण प्रमाणित एवं अद्यावधिक (अपडेट) गर्न पूर्ण सहयोग पुर्याउनेछन्। फारामलाई विधिवत रूपमा भरेर बुझाउनु अघि सबै मतदाताहरूलाई आफ्नो नाम, उमेर, ठेगाना, फोटो, मतदाता परिचयपत्र (ईपिक) नम्बर र पारिवारिक विवरणहरू ध्यानपूर्वक जाँच गर्न विशेष अनुरोध गरिएको छ।
यस विशेष गहन पुनरीक्षण कार्यक्रमको मुख्य उद्देश्य मतदाता नामावलीमा सबै योग्य नागरिकहरूको नाम समावेश गर्नु, मृत, बसाइँ सरेका र दोहोरिएका मतदाताहरूको नाम सूचीबाट हटाउनु, विवरणमा रहेका त्रुटिहरू सच्याउनु र निर्वाचन प्रक्रियाको शुद्धता एवं पारदर्शितालाई कायम राख्नु हो। सोरेङका जिल्ला निर्वाचन अधिकारीले घरदैलो प्रमाणीकरण प्रक्रियाको समयमा बीएलओहरूलाई पूर्ण सहयोग गर्न र तोकिएको समयसीमाभित्रै आफ्नो फाराम बुझाउन अपील गर्नुभएको छ।
कुनै पनि प्रकारको सहायता वा जानकारीका लागि मतदाताहरूले आफ्ना सम्बन्धित बीएलओहरूसँग सम्पर्क गर्न, चुनाउ पञ्जीकरण अधिकारी (ईआरओ) वा सहायक चुनाउ पञ्जीकरण अधिकारी (एईआरओ) को कार्यालयमा जान, मतदाता हेल्पलाइन एप को प्रयोग गर्न वा टोल-फ्री हेल्पलाइन नम्बर १९५० मा कल गर्न सक्नेछन्। यस महाअभियानमा पारदर्शिता र व्यापक जनसहभागिता बढाउनका निम्ति विभिन्न राजनीतिक दलहरूले पनि आफ्ना बुथ लेभल एजेन्ट (बीएलए) मार्फत सक्रिय रूपमा भाग लिइरहेका छन्।










