भद्रपुर: अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी. रोजर्स तीनदिने औपचारिक भ्रमणका लागि आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
उहाँ भारत भ्रमण सम्पन्न गरी त्यहाँबाट नेपाल आउन लाग्नुभएको हो। वर्तमान बालेन सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो हालसम्मकै उच्चस्तरीय भ्रमण मानिएको छ।
नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित ‘असेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपविदेश मन्त्री रोजर्स नेपाल आउन लाग्नुभएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर क्षेत्री का अनुसार नेपाल बसाइका क्रममा उहाँले परराष्ट्र मन्त्री शिशिर खनाल तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।
नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर ले गत जेठ ६ गते बिहान ९:१० बजे सफलतापूर्वक सगरमाथा (एभरेस्ट) को आरोहण गर्नुभएको थियो। उहाँको सम्मानमा अमेरिकी दूतावासले सेभेन समिट ट्रेक्स को सहकार्यमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो।
बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस विशेष एकदिने कार्यक्रममा हिमालय, पर्वतारोहण, साहसिक पर्यटन, उच्च हिमाली अनुसन्धान तथा अभियान व्यवस्थापनसँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा सहभागी गराइने जनाइएको छ।
स्रोतका अनुसार उपविदेश मन्त्री रोजर्सले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाह सँग भने उहाँको भेटघाट तय नभएको बताइएको छ।
यसअघि वैशाख ८ गते अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश मन्त्री पल कपुर तथा वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर ले नेपाल भ्रमण गर्नुभएको थियो। ती भ्रमणका क्रममा पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता भएको थिएन।










