सिलगढी: दुई दिनअघि सिलगढी कलेजमा भर्ना प्रक्रियालाई लिएर तृणमूल छात्र परिषद (टीएमसी) र अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) का कार्यकर्ताहरूबीच भएको हिंसक झडपपछि सिलिगुडीमा तनाव कायम छ। उक्त घटनाको सिलसिलामा टीएमसी नेता विश्वजित सरकारलाई पुलिसले पक्राउ गरेको छ।स्रोतका अनुसार, सोमबार बिहान भर्ना प्रक्रियाका क्रममा विद्यार्थी सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने विषयमा विवाद सुरु भएको थियो। सोही विवाद बढ्दै जाँदा कलेज क्याम्पसभित्रै दुवै समूहका सदस्यहरूबीच कुटाकुट र हिंसक झडप भएको थियो। झडपका क्रममा टीएमसीपीका छात्र नेता विवेक झा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सिलिगुडी जिल्ला अस्पताल भर्ना गरिएको र उपचारपछि डिस्चार्ज गरिएको छ।घटनाको अनुसन्धानका क्रममा सिलिगुडी पुलिसले सीसीटीभी फुटेजको जाँच गरी विश्वजित सरकारलाई नियन्त्रणमा लिएको हो। उनलाई अदालतमा पेस गरिएकोमा अदालतले ५ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। यस मामिलामा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि पुलिसले थप अनुसन्धान गरिरहेको जनाएको छ।









