गान्तोक: भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले आज गान्तोकस्थित लोक भवन परिसरमा ‘लालीगुराँस’ को बिरुवा रोपेकी छन्। यस औपचारिक वृक्षारोपण कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर, वन तथा वातावरण विभागका सचिव डा. प्रदीप कुमार, लोक भवनका राज्यपालका आयुक्त जितेन्द्र सिंह राजे, गान्तोकका जिल्लापाल रोहन अगवाने तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। राष्ट्रपतिको सिक्किम भ्रमणअन्तर्गतको आधिकारिक कार्यक्रमको एक भागका रूपमा रहेको यस वृक्षारोपणले पर्यावरण संरक्षण र दिगो जीवनशैलीको महत्वलाई विशेष रूपमा उजागर गरेको छ। यस सराहनिय पहलले सिक्किमको समृद्ध पारिस्थितिक सम्पदा तथा हिमाली क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षणप्रति राज्यको निरन्तर प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्दछ।
गाढा रातो फूलका लागि परिचित लालीगुराँस हिमाली क्षेत्रका प्रमुख फूल फुल्ने रूखहरूमध्ये एक हो, जसको सिक्किममा ठूलो पर्यावरणीय तथा सांस्कृतिक महत्व रहेको छ। यो प्रजाति राज्यभरि व्यापक रूपमा पाइने हुनाले यसले पूर्वी हिमालयको समृद्ध जैविक विविधता र प्राकृतिक सौन्दर्यलाई कायम राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।









