पाकिम: आगामी “विश्व धूम्रपान मुक्त दिवस” लाई लक्षित गरी सिक्किमको पाकिम जिल्ला स्वास्थ्य तथा परिवार कल्याण विभागले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कडा कदम चालेको छ। विभागले पाकिम पुलिस थाना र माछोङ प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा मंगलबार माछोङ क्षेत्रमा सिगरेट तथा अन्य सुर्तीजन्य पदार्थ ऐन (कोट्पा), २००३ अन्तर्गत विशेष प्रवर्तन अभियान (इन्फोर्समेन्ट ड्राइभ) सञ्चालन गरेको छ।
यस अभियानअन्तर्गत माछोङ प्राथमिक स्वास्थ्य केन्द्र परिसर, स्थानीय व्यापारिक प्रतिष्ठानहरूका साथै माछोङ सरकारी वरिष्ठ माध्यमिक विद्यालय, पराखा कनिष्ठ उच्च माध्यमिक विद्यालय र लिङ्के सरकारी माध्यमिक विद्यालय आसपासका क्षेत्रहरूमा सघन निरीक्षण गरिएको थियो।
नियम उल्लङ्घन गर्नेलाई जरिवाना र सामग्री जफत
निरीक्षणका क्रममा सार्वजनिक स्थान र पसलहरूमा कोट्पा नियमको पालना भए-नभएको सूक्ष्म जाँच गरिएको थियो। ऐनको प्रावधान अनुसार शैक्षिक संस्थाको १०० गज परिधिभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने र खुला रूपमा सिगरेट बिक्रीमा प्रतिबन्ध लगाइएको विषयमा अनुगमन गरिएको थियो। साथै, सार्वजनिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा “धूम्रपान निषेध” सम्बन्धी अनिवार्य सूचना पाटी राखिएको छ वा छैन भन्नेबारे पनि टोलीले निरीक्षण गर्यो।
अभियानका क्रममा नियम उल्लङ्घन गर्नेहरूबाट चलानमार्फत कुल ६ सय रुपियाँ जरिवाना संकलन गरिएको छ। केही पसलहरूबाट अवैध सुर्तीजन्य पदार्थ जफत गरिएको छ भने पहिलो पटक नियम उल्लङ्घन गर्ने व्यवसायीहरूलाई आगामी दिनमा त्यसो नगर्न कडा चेतावनी दिइएको छ।
अधिकारीहरूको सहभागिता र जनचेतना
प्रवर्तन टोलीमा जिल्ला सुर्ती नियन्त्रण कक्ष (डीटीसीसी), पाकिमकी कार्यक्रम संयोजक डा. दिग्छा श्री राई, माछोङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा. बिद्युत राई, दन्त चिकित्सक डा. भावना शर्मा र पाकिम प्राथमिक स्वास्थ्य केन्द्रकी दीपिका छेत्री सामेल थिए। अभियानलाई सफल बनाउन पाकिम पुलिसका हेड कन्स्टेबल पाल्देन दोर्जे भोटिया र एसए छिरिङ डेन्का भोटियाले सुरक्षा सहयोग पुर्याएका थिए।
टोलीले निरीक्षणका साथै स्थानीय पसले, व्यवसायी र सर्वसाधारणलाई सुर्तीजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा पर्ने हानिकारक प्रभावहरू र सुर्ती नियन्त्रण ऐनको पालना गर्नुको महत्त्वबारे सम्झाई-बुझाई गर्दै जनचेतना समेत जगाएको थियो।
स्वास्थ्य तथा परिवार कल्याण विभागले अभियानलाई सफल पार्न सहयोग गरेकोमा पाकिम पुलिस प्रशासनप्रति आभार व्यक्त गरेको छ। पाकिमलाई सुर्तीमुक्त जिल्ला बनाउने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता नियमित कानुनी कार्यान्वयन र जनचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिइने विभागले प्रतिबद्धता जनाएको छ।










