महत्त्वाकाङ्क्षी ‘भिजन २०३०’ सङ्कटमा: साउदी अरबको फजुल खर्चको युग अन्त हुँदै

Screenshot_20260526_212852_Chrome

​नयाँ दिल्ली: साउदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमान (एमबीएस) को महत्त्वाकाङ्क्षी योजना ‘भिजन २०३०’ वित्तीय सङ्कट र क्षेत्रीय तनावका कारण दबाबमा परेको छ। तेलमा आधारित अर्थतन्त्रलाई विविधीकरण गरी देशलाई आधुनिक प्रविधिको केन्द्र बनाउने सपनाका साथ सुरु गरिएका खर्बौँ डलरका ‘मेगा प्रोजेक्ट’ हरूको बजेटमा भारी कटौती गर्न थालिएको छ भने कतिपय आयोजनाहरू स्थगित गरिएका छन्।
​पछिल्लो समय मध्यपूर्वमा चर्किएको युद्ध र तेलको मूल्यमा आएको गिरावटका कारण साउदी अरबको राजस्व प्रभावित भएपछि यो अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
​महत्त्वाकाङ्क्षी परियोजनाहरू छाँटकाँट र रद्द
​साउदी अरबले आफ्नो करिब एक ट्रिलियन अमेरिकी डलरको ‘सोभरेन वेल्थ फन्ड’ (पब्लिक इन्भेस्टमेन्ट फन्ड) मार्फत संसारकै आश्चर्य मानिने भौतिक संरचनाहरू निर्माण गर्ने घोषणा गरेको थियो। तर, अहिले ती योजनाहरूलाई व्यावहारिक बनाउन भन्दै संकुचित गरिँदै छ:
​’द लाइन’: उत्तर-पश्चिम साउदीको मरुभूमिमा १६१ किलोमिटर लामो सीधा र अत्याधुनिक सहर बनाउने घोषणा गरिएकोमा अहिले यसको आकार निकै सानो र साधारण बनाइँदै छ।
​ट्रोजेना विन्टर रिसोर्ट: मरुभूमिको देशमा कृत्रिम हिउँ बनाएर स्की खेल मैदान र विलासी होटल बनाउने योजना अव्यावहारिक देखिएपछि रोेकिएको छ। सन् २०२९ को ‘एशियाली शीतकालीन खेलकुद’ आयोजना गर्ने जिम्मेवारी पाएको साउदीले उक्त प्रतियोगिता रद्द गरेपछि अब यो खेल कजाकिस्तानमा हुने भएको छ।
​’द क्युब’: ५० बिलियन डलरको लागतमा आवासीय फ्ल्याट र कार्यालयहरू बनाउने भनिएको यो विशाल परियोजना पनि हाललाई स्थगित गरिएको छ।
​खेलकुदमा लगानी: साउदी अरबलाई खेलकुदको विश्वव्यापी केन्द्र बनाउन ‘LIV गल्फ टुर’ जस्ता क्षेत्रमा ५ बिलियन डलरभन्दा बढी खर्च गरिए पनि यसबाट वित्तीय लाभ हुन सकेको छैन।
​लगानीकर्ता डराउनुको मुख्य कारण
​विज्ञहरूका अनुसार साउदी अरबले अपेक्षा गरेअनुरूप विदेशी लगानी भित्रिन सकेन। सन् २०१७ मा युवराज सलमानले भ्रष्टाचार विरोधी अभियानका नाममा ‘रित्ज-कार्लटन होटल’ मा देशका शीर्ष व्यापारी र अधिकारीहरूलाई थुनेर झन्डै १०० अर्ब डलर असुल गरेका थिए। त्यसलगत्तै सन् २०१८ मा पत्रकार जमाल खशोज्जीको हत्या भयो।
​अधिकारवादी र आर्थिक विश्लेषकहरूका अनुसार यी घटनाहरूले सिर्जना गरेको डरको वातावरणका कारण विदेशी लगानीकर्ताहरू साउदी अरबमा ठुलो पूँजी लगाउन हिचकिचाए। लगानीकर्ताहरू स्थिरता र कानुनी भरोसा चाहन्छन्, जुन साउदीको कठोर शासनमा देखिँदैन।
​सल्लाहकारहरूको ‘जी-हजुर’ संस्कृति
​’साउदी इंक’ पुस्तकका लेखक एलेन आर वाल्डका अनुसार साउदी अधिकारीहरूले बजारको वास्तविक अवस्था नबुझी शासकलाई खुसी पार्न मात्र ठुला योजनाहरू बनाएका हुन्। राजा र युवराजले जे सुन्न चाहन्छन्, सल्लाहकार र विदेशी परामर्शदाता कम्पनीहरूले ठुला ठेक्का पाउनका लागि त्यही मात्र सुनाउने परिपाटी (जी-हजुर संस्कृति) का कारण यी योजनाहरू अन्ततः असफल सिद्ध हुँदै गएका छन्।
​यसअघि सन् २००० को दशकमा पूर्व राजा अब्दुल्लाहले ल्याएको १०० बिलियन डलरको ‘इकोनोमिक सिटीज’ कार्यक्रम पनि यसै गरी असफल भएको थियो।
​सामाजिक सुधार तर राजनीतिक दमन यथावत्
​’भिजन २०३०’ ले साउदी अरबको सामाजिक रूपरेखामा भने ठुलो परिवर्तन ल्याएको छ। महिलाहरूलाई सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) दिइनु र देशमा सिनेमा, कन्सर्ट तथा मनोरञ्जनका साधन खुला गरिनुलाई साउदी युवाहरूले निकै रुचाएका छन्।
​तर, राजनीतिक रूपमा भने असहमति र आलोचना गर्नेहरूलाई अझै पनि कडा सजाय दिने गरिएको छ। ‘स्पोर्ट्सवाशिङ’ र ‘आर्टवाशिङ’ मार्फत मानवअधिकार उल्लंघनको दाग मेट्ने साउदीको प्रयास पूर्ण रूपमा सफल हुन सकेको छैन।
​नयाँ रणनीति: ‘थोरै तर भरपर्दो’
​ठुला योजनाहरू असफल हुन थालेपछि साउदी अधिकारीहरूले आफ्नो गल्ती आंशिक रूपमा स्वीकार गर्दै रणनीति परिवर्तन गरेका छन्। अब साउदी अरबले ‘नियोम’ जस्ता असम्भव मेगा प्रोजेक्टको साटो साना र सफल हुन सक्ने आयोजनाहरूमा ध्यान केन्द्रित गर्न थालेको छ।
​रातो सागरमा अवस्थित ‘सिन्दालाह टापु रिसोर्ट’, पुरानो राजधानी ‘दिरियाह’ को पुनरुत्थान, र प्राचीन सांस्कृतिक स्थल ‘अल-उला’ को सफल विकासलाई अहिले साउदीले आफ्नो प्रतिष्ठाको रूपमा अघि सारेको छ। साथै, साउदी अरबले सन् २०३४ को फुटबल विश्वकप को आयोजना अधिकार पाइसकेकाले अबको ध्यान सुरक्षित र व्यवस्थित पूर्वाधार निर्माणमा मोडिएको छ।
​गल्ती सच्याएर व्यावहारिक बाटोमा हिँड्ने साउदीको यो नयाँ शैलीले अन्तर्राष्ट्रिय जगत्मा लगानीकर्ताहरूको विश्वास केही हदसम्म ब्युँताउन सक्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement