महिला वर्गमा सबिना गिरी र पुरुष वर्गमा प्रयास प्रधान प्रथम
खरसाङ: आकाशवाणीको गौरवमय ९० वर्ष पुगेको अवसरमा आकाशवाणी खरसाङको आयोजनामा म्याराथनको आयोजना गरिएको छ। उक्त म्याराथन खरसाङको रोहिणी रोडमा रहेको जिरोदेखि आकाशवाणी खरसाङ परिसरसम्म ३ किलोमिटर दुरीसम्म आयोजना गरिएको छ। उक्त रोहिणी जिरोमा बिहान ७:३० बजीदेखि भेला भएर म्याराथन ७:१० बजी प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले झण्डा देखाएर प्रस्थान गराएका थिए।

उक्त म्याराथन रोहिणी जिरोबाट राष्ट्रिय राजमार्ग हुँदै खरसाङ बजार परिक्रमा गर्दै अस्पताल मोड अनि वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्ड भएर पंखाबारी भएर आकाशवाणी खरसाङ परिसरसम्म आयोजना गरिएको छ। यस म्याराथनमा आकाशवाणी खरसाङमा कार्यरत् विभिन्न विभागका कर्मचारीहरुले भाग लिएका थिए। यसमा महिला वर्गमा जम्मा २८ जना र पुरुष वर्गमा २१ जना गरी जम्मा ४९ जनाले भाग लिएका थिए। यस म्याराथनमा महिला वर्गमा प्रथम सबिना गिरी, दोस्रो रेबिना सुब्बा अनि तेस्रो प्रज्ञा शंकर भएका छन् भने पुरुष वर्गमा प्रथम प्रयास प्रधान, दोस्रो नर्बु छिरिङ शेर्पा र तेस्रो प्रशान्त छेत्री भएका छन्। उक्त म्याराथनमा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले पनि सहभागिता जनाएका थिए। उनले पनि सातौं स्थानमा रहेर आफ्नो दौड पूरा गरेका थिए। म्याराथनमा सहभागी हुनेहरुलाई प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामा, विशिष्ट अतिथिको रुपमा उपस्थित सञ्जय छेत्री र आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख राजीव सुब्बाको बाहुलीबाट पारितोषिक वितरण गरिएको छ। यस क्रममा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेलाई प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरिएको छ भने सहभागी सबैलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको छ। यस कार्यक्रमलाई वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन गरेका थिए। कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले सम्बोधन गर्दै आकाशवाणीको ९० वर्षको यात्रा गौरवमय रहेको र अहिले आएर एआईको समयमा पनि रेडियोले भरपर्दो तरिकाले सूचना सम्प्रेषण गरिरहेको बताए। उनले आकाशवाणीको ९० वर्ष पुगेको अवसरमा आयोजित म्याराथनमा आफु पनि सहभागी हुन पाएकोमा गौरवको अनुभव गरेको र आफु पनि सानैदेखि रेडियो सुन्दै आएको र यसरी रेडियोको कार्यक्रममा सहभागी हुन पाउनु गौरवमय रहेको बताएका छन्।

कार्यक्रममा आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक राजीव सुब्बाले सम्बोधन गर्दै आकाशवाणीको ९० वर्ष पुगेको अवसरमा आयोजित म्याराथन कार्यक्रम सफल भएको र सबैको सहभागिताको लागि धन्यवाद दिएका छन्। उनले अब आकाशवाणी खरसाङको आयोजनामा अन्य कार्यक्रमहरु पनि आयोजना गरिने र ती कार्यक्रममा पनि सबैको सहभागिताको आशा व्यक्त गरेका छन्। उल्लेखनीय छ आकाशवाणीको स्थापना सन् १९३६ मा भएको थियो र आज पर्यन्त आकाशवाणीले भरपर्दो र विश्वसनीय सूचना प्रसारणको माध्यम बनेर लगातार रुपमा कार्य गर्दै आईरहेको छ। यस म्याराथन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक मनन तामाङले विस्तृत जानकारी गराएका छन्। यस म्याराथनमा दुवै वर्गमा प्रथम र दोस्रो हुनेहरुले पनि आफ्नो अनुभव सेयर गरेका छन्।









