नयाँ दिल्ली: इरानको विदेश मन्त्रालयले अमेरिकासँग पर्दापछाडि भइरहेको गुप्त शान्ति वार्ताको विवरण सार्वजनिक गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले उच्च स्तरीय मध्यस्थता जारी रहे पनि तेहरान र वासिङ्टनबीचको वैचारिक तथा कार्यशैलीगत दूरी निकै गहिरो रहेको स्पष्ट पारेका हुन्। यससँगै इरान अमेरिकासामु झुकेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई तेहरानले खारेज गरिदिएको छ। प्रवक्ता बगाईले वार्ता कुनै पनि अन्तिम सहमतिनजिक नपुगेको उल्लेख गर्दै आगामी केही हप्ता वा महिनाभित्रै औपचारिक युद्धविरामको रूपरेखा तयार हुने अनुमान गर्न गाह्रो रहेको बताएका छन्। विगतमा भएका युद्धविराम उल्लंघनका घटना र खाडी क्षेत्रमा जारी सैन्य तैनाथीका कारण दुवै पक्षबीच गहिरो अविश्वास रहेको इरानको भनाइ छ।
खुफिया स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरण अनुसार यो संवेदनशील शान्ति प्रक्रिया अप्रत्यक्ष ढाँचामा अघि बढिरहेको छ, जसमा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। दुवै देशले आमनेसामने बस्नुको सट्टा पाकिस्तानमार्फत कूटनीतिक दस्ताबेज र औपचारिक सन्देशहरू आदानप्रदान गरिरहेका छन्। इरानी नेतृत्वले यसै महिनाको सुरुमा अघि सारेको १४ बुँदे व्यापक शान्ति प्रस्तावका सन्दर्भमा ह्वाइट हाउसबाट प्राप्त पछिल्लो जवाफको समीक्षा गरिरहेको छ। तत्काल वार्ता भङ्ग हुन नदिन दुवै पक्षले आणविक मुद्दा जस्ता जटिल र दीर्घकालीन विवादहरूलाई थाती राख्दै केवल युद्ध रोक्ने, सेना फिर्ता गर्ने र होर्मुज स्ट्रेटमा जहाजहरूको आवगमन सहज बनाउने जस्ता सीमित प्राथमिकतामा मात्र ध्यान केन्द्रित गरेका छन्।
वार्ताको मुख्य अड्चन इरानसँग रहेको अत्यधिक संवर्धित युरेनियमको भण्डार र आणविक अनुसन्धानको आन्तरिक अधिकारमा देखिएको छ। अमेरिकी प्रतिनिधिमण्डलले इरानमाथि लागेका प्रतिबन्धहरू हटाउनका लागि संवर्धित युरेनियम देशबाहिर पठाउनुपर्ने सर्त राखे पनि इरानी वार्ताकारहरूले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। इरानले आफ्नो संवर्द्धन क्षमतालाई सार्वभौम अधिकार मानेको छ, जसलाई अस्थायी सैन्यविरामका लागि त्याग्न नसकिने अडान लिएको छ। पाकिस्तानको कूटनीतिले संवादको बाटो खोले पनि इरानको सार्वजनिक प्रतिक्रियाले कुनै पनि ‘लिखित सम्झौता’ अझै टाढा रहेको संकेत गर्छ। यसैबीच, वासिङ्टनमा कूटनीतिक हलचल तीव्र बनेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सप्ताहान्तको बिदा रद्द गरेपछि इरानसँगको तनाव फेरि बढ्न सक्ने आशंका गरिएको छ।











