तुलसी गबार्डद्वारा अचानक राजीनामा,

3fakgp9_tulsi_625x300_23_May_26

ट्रम्पले भने, ‘हामीलाई उनको कमी महसुस भइरहनेछ’

नयाँ दिल्ली: अमेरिकाकी राष्ट्रिय गुप्तचर निर्देशक (नेशनल इन्टेलिजेन्स डायरेक्टर) तुलसी गबार्डले आफ्नो पदबाट अचानक राजीनामा दिएकी छन्। श्रीमान्‌लाई क्यान्सर रोग देखा परेको उल्लेख गर्दै उनले पदबाट बाहिरिने निर्णय लिएकी हुन्। गबार्डका श्रीमान्‌लाई हालै मात्र हड्डीको क्यान्सर (बोन क्यान्सर) पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
​शुक्रबार आफ्नो राजीनामा पत्र बुझाउँदै गबार्डले पारिवारिक संकटको घडीमा आफू श्रीमान्‌को साथमा रहनुपर्ने उल्लेख गरेकी छन्। ‘उहाँको शक्ति र प्रेमले हरेक चुनौतीमा मलाई साथ दिएको छ,’ राजीनामा पत्रमा उनले लेखेकी छन्, ‘मेरो विवेकले यो अनुमति दिँदैन कि उहाँले यो कठिन लडाइँ एक्लै लडोस् र म चाहिँ यस्तो बढी जिम्मेवारी र समय माग गर्ने पदमा बसिरहूँ।’
​गबार्डको राजीनामा आगामी जून ३० देखि लागू हुनेछ। उनको राजीनामा स्वीकृत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गबार्डको कार्यक्षमताको प्रशंसा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गबार्डले आफ्नो पदमा रहेर उत्कृष्ट काम गर्नुभएको छ। हामीलाई उहाँको कमी सधैं महसुस भइरहनेछ।’ गबार्ड बाहिरिएपछि प्रिन्सिपल डिप्टी डायरेक्टर एरोन लुकासले कार्यवाहक निर्देशकको जिम्मेवारी सम्हाल्ने ट्रम्पले जानकारी दिएका छन्।
​सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा गबार्डले ट्रम्पलाई बलियो समर्थन गरेकी थिइन्। सन् २०२५ मा ट्रम्प ह्वाइट हाउस फर्किएपछि गबार्डलाई अमेरिकी गुप्तचर निकायको सबैभन्दा शक्तिशाली जिम्मेवारी सुम्पिएको थियो। तर, पछिल्लो समय अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाही, क्युबामाथिको दबाब र भेनेजुएलाका राष्ट्रपतिको बहिर्गमन गराउने जस्ता रणनीतिक कदमहरू चालिएका बेला उनी सार्वजनिक रूपमा निकै कम देखिएकी थिइन्।
​गबार्ड ट्रम्प प्रशासनको क्याबिनेट छोड्ने चौथो उच्च अधिकारी हुन्। यसअघि अप्रिलमा श्रम मन्त्री लोरी चाभेज–डिरिमर, होमल्याण्ड सेक्युरिटी मिनिस्टर क्रिस्टी नोएम र अटर्नी जनरल पाम बन्डीले पनि ट्रम्प प्रशासन छाडिसकेका छन्।
​सैन्य पृष्ठभूमिबाट राजनीतिमा आएकी गबार्डले इराक युद्धका क्रममा अमेरिकी सेनाको मेडिकल युनिटमा सेवा गरेकी थिइन्। सन् २००२ मा २१ वर्षको उमेरमा हवाईको एसेम्बलीमा निर्वाचित भएर उनी सबैभन्दा कान्छी जनप्रतिनिधि बनेकी थिइन्। सन् २०१३ देखि २०२१ सम्म डेमोक्रेटिक पार्टीका तर्फबाट कंग्रेस सदस्य बनेकी गबार्ड अमेरिकी कंग्रेसमा पुग्ने पहिलो हिन्दू प्रतिनिधि हुन्।
​विदेशमा हुने युद्धहरूमा अमेरिकी हस्तक्षेपको कडा विरोधी मानिने गबार्डले सन् २०२२ मा डेमोक्रेटिक पार्टी परित्याग गर्दै आफूलाई स्वतन्त्र घोषित गरेकी थिइन्। पछि रिपब्लिकन पार्टीमा प्रवेश गरेकी उनी ट्रम्पको मुख्य सल्लाहकार र चुनावी अभियानको मुख्य हिस्सा बनेकी थिइन्। राष्ट्रिय गुप्तचर निर्देशकका रूपमा उनले अमेरिकी गुप्तचर एजेन्सीहरूलाई छरितो बनाउने भन्दै ५० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने योजना अघि सारेकी थिइन्।

About Author

Advertisement