सशस्त्र पुलिस बल नं. २ गण झापाको १९औं वार्षिकोत्सव सम्पन्न, ११ करोड बढीको अवैध सामान बरामद

IMG-20260522-WA0089

​झापा(नेत्र बिक्रम बिमली): सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले आफ्नो १९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। उक्त अवसरमा गणले चालु आर्थिक वर्षमा गरेका महत्वपूर्ण उपलब्धि र सामाजिक कार्यहरूको विवरण समेत सार्वजनिक गरेको छ। वार्षिकोत्सव समारोहमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी, नगर प्रमुखहरू, गाउँपालिका अध्यक्षहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू तथा स्थानीय उद्योगी, व्यवसायी र भद्रभलाद्मीहरूको उल्लेख्य सहभागिता रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो।
​समारोहका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूका साथै खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो। कार्यक्रममा खेलकुद तर्फका उत्कृष्ट सशस्त्र पुलिस कर्मचारी, उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई प्रमाणपत्र, अवकाश प्राप्त सशस्त्र प्रहरीलाई प्रशंसा पत्र तथा शहीद परिवारका सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीआईजी मनिष थापाले कार्यरत सकल दर्जाका राष्ट्रसेवकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। साथै, उहाँले राज्यद्वारा सुम्पिएको जिम्मेवारीलाई आगामी दिनमा अझ बढी प्रभावकारी रूपमा कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभयो।
​समारोहमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गणका गणपति सशस्त्र पुलिस उपरीक्षक अम्बिका प्रसाद जोशीले गणले १९औं वसन्त पार गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०२५/२६ मा गणले रू. ११ करोड ११ लाख ८७ हजार १० बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ। यसैगरी ६६०.५४० ग्राम सुन, स्रोत नखुलेको अमेरिकी डलर २०,०००, भारतीय रुपैयाँ १३,५२,५१० र नेपाली रुपैयाँ १२,८७,१२० बरामद गरिएको छ। सुरक्षा कारबाहीका क्रममा १ थान एयर पिस्तोल र १८ थान मेटल बुलेटका साथै ५९८.६४ ग्राम ब्राउन सुगर र ४७ वटा विभिन्न लागुऔषध ट्याब्लेट समेत जफत गरिएको छ। यी अवैध गतिविधिमा संलग्न १३३ जना व्यक्ति र १७५ वटा सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको गणपति जोशीले जानकारी दिनुभयो।

​शान्ति सुरक्षाका साथै विपद् व्यवस्थापनमा पनि गणले सह्रानीय कार्य गरेको छ। यस अवधिमा ६०५ जना बाढीपीडितको सकुशल उद्धार गरिएको छ भने ४ जना मृतकको शव निकालिएको छ। आगलागी नियन्त्रणका लागि २० पटक टोली परिचालन गरिएको थियो। आगामी मनसुनलाई लक्षित गरी कुञ्जिबारीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको र विपद् पूर्वतयारीका लागि १० पटक कृत्रिम अभ्यास समेत गरिएको छ। यसका साथै मेचीनगर नगरपालिका र अन्य ३ वटा गाउँपालिकाका ९१ जना स्थानीय बासिन्दाहरूलाई १८ कार्यदिनको विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ। गणले सीमा सुरक्षा, भन्सार चुहावट नियन्त्रण र विपद् व्यवस्थापनमा देखाएको यो सक्रियताले झापा जिल्लाको समग्र सुरक्षा व्यवस्थामा थप बल पुगेको छ।

About Author

Advertisement