सोरेङ: सोरेङ जिल्लामा मतदाता नामावलीको शुद्धीकरण र निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउनका लागि विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ को तयारी तीव्र पारिएको छ। सोरेङ जिल्लाका जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल धिरज सुबेदीको अध्यक्षतामा आज जिल्ला प्रशासनिक केन्द्रमा यसै विषयलाई लिएर एक विशेष बैठक सम्पन्न भयो। विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको उक्त बैठकमा एसआईआर २०२६ को तयारी तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा जिल्लापाल सुबेदीले प्रारम्भिक मस्यौदा प्रकाशन हुनुअघि र पछिका विभिन्न प्राविधिक गतिविधि, घरदैलो प्रमाणीकरण, मतदान केन्द्रहरूको पुनर्संरचना, दाबी तथा आपत्ति लिने प्रक्रिया, गणना चरण र पुनरीक्षण प्रक्रियाबारे प्रकाश पारे। उनले यस समग्र प्रक्रियामा निर्वाचन दर्ता अधिकारी र राजनीतिक दलहरूको भूमिका एवं जिम्मेवारी निकै महत्त्वपूर्ण हुने उल्लेख गरे। सोही क्रममा उप जिल्ला निर्वाचन अधिकारी एवं अतिरिक्त जिल्लापाल डीआर बिष्टले एक प्रस्तुतीकरण दिँदै मतदाता नामावलीको गुणस्तर, विश्वसनीयता, जनसांख्यिक परिवर्तन, समावेशिता, प्रमाणिक कागजात र नयाँ नाम दर्ता गर्ने सम्बन्धमा जानकारी गराएका थिए।
यसपटकको पुनरीक्षण कार्यलाई थप प्रभावकारी बनाउन सोरेङ जिल्लाका निर्वाचन दर्ता अधिकारी तथा सहायक निर्वाचन दर्ता अधिकारीका कार्यालयहरूमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने भएको छ। बैठकमा एसआईआरको कार्यतालिका, पुनर्संरचित मतदान केन्द्रहरूको सूची, छुटेका राजनीतिक दलहरूका लागि बुथस्तरीय प्रतिनिधि नियुक्ति र सञ्चार टोलीलाई सक्रिय बनाउने निर्णय समेत भएको छ। निर्वाचनसम्बन्धी भ्रमपूर्ण सूचनाको निगरानी र सञ्चार गतिविधिलाई व्यवस्थित गर्न एक छुट्टै सञ्चार नियन्त्रण कक्ष स्थापना गर्ने विषयमा पनि बैठकमा सहमति जुटेको छ। बैठकको अन्त्यमा आयोजित खुल्ला छलफल सत्रमा राजनीतिक दलका प्रतिनिधिहरूले राखेका जिज्ञासा तथा प्राविधिक शंकाहरूमाथि विस्तृत रूपमा विचारविमर्श गरिएको थियो।









