गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले गेजिङ जिल्लाको आफ्नो तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज क्षेत्रको ऐतिहासिक सम्पदा, प्रगतिशील कृषि तथा पर्यावरण संरक्षणसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण स्थानहरूको विस्तृत अवलोकन गरेका छन्। ऐतिहासिक धरोहरको संरक्षण र स्थानीय स्तरमा भइरहेका आत्मनिर्भर प्रयासहरूले नै सिक्किमको मौलिक पहिचानलाई जोगाउने भन्दै उनले कला र कृषिको प्रवर्द्धनमा जोड दिए।
राज्यपाल माथुरले आफ्नो भ्रमणको सुरुवात सिक्किमको पहिलो ऐतिहासिक राजधानी युक्सोमबाट गरे, जहाँ उनले सन् १६४२ मा फुन्त्सोक नामग्याललाई सिक्किमको पहिलो छोग्यालका रूपमा राज्याभिषेक गरिएको ऐतिहासिक स्थल ‘कोरोनेशन थ्रोन’ (राज्याभिषेक सिंहासन) को अवलोकन गरे। प्राचीन स्मारकहरूको सूक्ष्म निरीक्षण गर्दै उनले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदालाई अक्षुण्ण राख्न र ऐतिहासिक धरोहरहरूको संरक्षणलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए।
ऐतिहासिक स्थलको भ्रमणपछि राज्यपालले युक्सोमस्थित किवी खेती केन्द्रको अवलोकन गर्ने क्रममा सिक्किमका प्रसिद्ध ‘किवी म्यान’ बुद्धहाङ सुब्बासँग भेटघाट गरे। सुब्बाले क्षेत्रमा अपनाइएको किवीको उन्नत खेती प्रविधि, यसले किसानहरूको जीविकोपार्जनमा पारेको सकारात्मक प्रभाव र औषधीय गुणयुक्त जिन्सेङ खेतीको प्रयोगबारे राज्यपाललाई विस्तृत जानकारी गराएका थिए। कृषि क्षेत्रमा स्थानीय स्तरमा भइरहेका यस्ता नवीन र आत्मनिर्भर प्रयासहरूको राज्यपालले खुलेर प्रशंसा गरे।
पर्यावरण संरक्षण र स्वच्छताप्रतिको प्रतिबद्धतालाई बुझ्न राज्यपालले युक्सोमस्थित प्रमुख फोहोर व्यवस्थापन केन्द्र ‘रिसोर्स रिकभरी सेन्टर’ को समेत भ्रमण गरे। त्यहाँ उनले सुख्खा र गिलो फोहोर छुट्याउने, पुनःप्रयोग (रिसाइकल) गर्ने प्रक्रिया तथा विद्युतीय फोहोर सङ्कलनका लागि गरिएका पर्यावरणमैत्री प्रबन्धहरूको सूक्ष्म निरीक्षण गरेका थिए।
भ्रमणको अन्तिम चरणमा राज्यपाल माथुर युक्सोमको खेचेपेरीस्थित ‘खेचेपेरी ब्याम्बु हाउस’ पुगेर स्थानीय शिल्पकार तथा कारीगरहरूसँग प्रत्यक्ष संवाद गरे। बाँसबाट तयार गरिएका परम्परागत हस्तकलाका सामग्रीहरूको अवलोकन गर्दै उनले वातावरणमैत्री दिगो जीविकोपार्जनको यो नमूना र शिल्पकारहरूको सीपको सराहना गरे। उनले परम्परागत कलालाई जीवन्त राख्न र यसलाई ठूला बजारसम्म पुर्याउन राजभवनका तर्फबाट हरसम्भव सहयोग उपलब्ध गराइने आश्वासन समेत दिए। यस महत्त्वपूर्ण भ्रमणका क्रममा क्षेत्र विधायक एवं पर्यटन मन्त्री टीटी भोटिया, स्थानीय जनप्रतिनिधिहरू तथा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको लोकभवनले जनाएको छ।










