सिलगढी नगर निगममा भ्रष्टाचारको आरोप

FB_IMG_1779356724472

मुख्यमन्त्रीद्वारा छानबिनको निर्देशन

‎फुलबारी: उत्तरकन्यामा मुख्यमन्त्री सुवेन्दु अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशासनिक बैठकमा सिलगढी नगर निगममा कथित भ्रष्टाचारको विषयलाई लिएर जनप्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दार्जिलिङका सांसद राजु बिष्ट तथा सिलगढीका विधायक शंकर घोषले घटनाको छानबिनका लागि मुख्यमन्त्रीले नगर विकास मन्त्री अग्निमित्रा पाललाई निर्देशन दिएको जानकारी दिएका छन्।
उत्तर बङ्गालको प्रशासनिक संरचना, विकास आयोजना तथा शासन व्यवस्थासँग सम्बन्धित विभिन्न विषयलाई लिएर उत्तरकन्यामा उच्चस्तरीय प्रशासनिक बैठक सम्पन्न भएको थियो। बैठकपछि सांसद र विधायकले सञ्चारकर्मीहरूलाई अनेक महत्वपूर्ण निर्णय तथा घोषणाबारे जानकारी दिएका छन्। उनीहरूले आगामी जुन महिनादेखि सम्पूर्ण राज्यमा “विकसित भारत–रोजगार तथा आजीविका ग्यारेन्टी ग्रामीण अभियान” अन्तर्गत एक सय पच्चीस दिनको रोजगारी योजना सुरु गरिने बताएका छन्। साथै जुन महिनादेखि सरकारी बसमा महिलाहरूका लागि भाडा माफी गरिने घोषणासमेत गरिएको छ।
राजु बिष्ट र शंकर घोषले सिलगढी नगर निगममा ठूलो स्तरको भ्रष्टाचारसम्बन्धी अनेक उजुरी सार्वजनिक भएको आरोप लगाउँदै चाँडै नै छानबिन प्रक्रिया सुरु गरिने बताएका छन्। उनीहरूले अझै निर्वाचन हुन बाँकी रहेका नगर निगमहरूमा वर्षायाम समाप्त भएपछि मतदान गराउने सम्भावना रहेको पनि बताएका छन्।
बैठकमा चिया बगान क्षेत्रहरूको विकासबारे पनि विस्तृत छलफल गरिएको थियो। चियासम्बन्धी विकास आयोजनालाई अझ प्रभावकारी बनाउन असम नमुना अपनाउन निर्देशन दिइएको जनाइएको छ।
सांसद र विधायकले उत्तर बङ्गालका विकास कार्यहरूको नियमित समीक्षा गर्न अबदेखि प्रत्येक महिना यस प्रकारका प्रशासनिक बैठक आयोजना गरिने बताएका छन्। साथै प्रहरी, प्रशासन तथा विभिन्न विभागबीच समन्वय कायम राख्न निर्देशनसमेत जारी गरिएको छ।

About Author

Advertisement