नयाँ दिल्ली: भारतका उपराष्ट्रपति जगदीप धनखडले उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा पूर्व केन्द्रीय मन्त्री मेजर जनरल बी. सी. खण्डुरी (सेवानिवृत्त) को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
शोक सन्देशमा उपराष्ट्रपतिले बी. सी. खण्डुरीको निधनसँगै देशले एक विशिष्ट सैनिक, कुशल प्रशासक तथा दुर्लभ इमानदारी भएका राजनेता गुमाएको बताएका छन्।
उनले भारतको सडक पूर्वाधार विकासमा खण्डुरीको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्। विशेष गरी स्वर्णिम चतुर्भुज परियोजना तथा राष्ट्रिय राजमार्ग विकास कार्यक्रमलाई अघि बढाउन उनले खेलेको दूरदर्शी भूमिका देशको विकास यात्रामा कोशेढुङ्गा साबित भएको उपराष्ट्रपतिले बताएका छन्। उपराष्ट्रपतिले हालै देहरादून भ्रमणका क्रममा बी. सी. खण्डुरीसँग भेट गर्ने अवसर पाएको पनि बताएका छन्। त्यस क्रममा उनीहरूले लोकसभामा सँगै बिताएका समय तथा पुराना सम्झनाहरू स्मरण गरेका थिए।
उनले दिवङ्गत नेताका परिवारजन, समर्थक तथा उत्तराखण्डवासीप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा ईश्वरले सबैलाई धैर्य र शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन्।










