एसडीएफ ‎‎‎‎‎ग्यालसिङ र सोरेङ जिल्लाको समन्वय बैठक सम्पन्न‎

FB_IMG_1779214473051

जोरथाङ: सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) पार्टीको ग्यालसिङ र सोरेङ जिल्लास्तरीय समन्वय बैठक हिजो जोरथाङस्थित क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकको नेतृत्व पश्चिम सिक्किमका प्रभारी तथा केन्द्रीय कार्यकारिणी समितिका वरिष्ठ उपाध्यक्ष एस. आर. लिम्बूले गरेका थिए। बैठकमा केन्द्रीय कार्यकारिणी समितिका उपाध्यक्ष सोमबहादुर राई, सोरेङ जिल्ला अध्यक्ष महेन्द्र नाल्बो, ग्यालसिङ जिल्ला अध्यक्ष दिपेन गुरुङ, सोरेङ युवा प्रभारी इजाक मुरिङला, ग्यालसिङ जिल्ला महिला मोर्चा प्रभारी मुना हाङ्मा लिम्बू, केन्द्रीय कार्यकारिणी समितिका उपाध्यक्ष तथा ग्यालसिङ जिल्ला सङ्गठन प्रभारी कर्मा वाङ्चुक लेप्चा लगायत अन्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा एसडीएफ पार्टीले स्थापना कालदेखि नै सिक्किमको विकास र सिक्किमेली जनताको हितका लागि निरन्तर कार्य गर्दै आएको विषयमा चर्चा गरिएको थियो। सिक्किम भोटिया, लेप्चा, नेपाली समुदाय तथा पुराना व्यापारीहरूको साझा भूमि भएको उल्लेख गर्दै सिक्किमको पहिचान, संस्कृति र अधिकारको संरक्षण अपरिहार्य रहेकोमा जोड दिइयो।
बैठकमा पार्टीले कहिल्यै पनि सिक्किम र सिक्किमेली जनतालाई धोका नदिएको तथा राज्यको हित संरक्षणमा निरन्तर प्रतिबद्ध रहेको बताइएको थियो। साथै आगामी २०२९ को निर्वाचनमा पार्टी एकता, समर्पण र जनसेवाको नयाँ संकल्पका साथ अघि बढ्ने सन्देश दिइयो।
बैठकको अन्त्यमा जरा स्तरमा पार्टी सङ्गठनलाई अझ सुदृढ बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा सिक्किमको अधिकार, पहिचान र भविष्यसँग सम्बन्धित मुद्दाहरूलाई निरन्तर उठाइरहने सामूहिक प्रतिबद्धता व्यक्त गरियो। पार्टीका नेता तथा सदस्यहरूले सिक्किमेली जनताको कल्याण, प्रगति र आकांक्षाको पूर्तिका लागि इमानदारी र समर्पणका साथ एकजुट भएर कार्य गर्ने अठोट दोहोर्‍याएका थिए।

About Author

Advertisement