गान्तोक: सिनाल्चू फुटबल क्लबले सिक्किम प्रीमियर लीग (एसपीएल) सीजन-४ को उपाधि आफ्नो नाम गरेको छ। राजधानीको पाल्जोर स्टेडियममा सोमवार राति खेलिएको रोमाञ्चक फाइनल भिडन्तमा प्रतिद्वन्द्वी सिङलिङ स्पोर्टिङ क्लबलाई पराजित गर्दै सिनाल्चू च्याम्पियन बनेको हो। पहिलोपल्ट फाइनलमा पुगेको सिनाल्चूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै उपाधि चुम्न सफल भयो।
फाइनल खेलमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवं हरिद्वारका सांसद त्रिवेन्द्रसिंह रावत र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुश्ताकको पनि उपस्थिति रहेको थियो। खेल हेर्न स्टेडियममा फुटबल प्रेमीहरूको ठूलो ओइरो लागेको थियो।
मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट विजेता तथा उपविजेता टोलीलाई ट्रफी र पुरस्कार राशि प्रदान गरियो। सो अवसरमा राज्यपाल माथुरले खुसी व्यक्त गर्दै सिक्किमका युवा प्रतिभाहरू फुटबल क्षेत्रमा निरन्तर उत्कृष्टताको दिशामा अघि बढिरहेको बताए।










