अमेरिकाले रूसी तेल प्रतिबन्धमा छूट जुन १७ सम्म लम्ब्यायो; राष्ट्रिय हितमा भारतकाे दृढ अडान कायम

india-russia-oil-banner

​नयाँ दिल्ली: अमेरिकाले समुद्री मार्गबाट ओसारपसार हुने रूसी कच्चा तेलमाथिको प्रतिबन्धबाट दिइँदै आएको छुटको अवधि थप एक महिनाका लागि बढाएको छ। अमेरिकी वित्त मन्त्रालयले सोमबार एक आधिकारिक आदेश जारी गर्दै अप्रिल १७ वा सोभन्दा अघि समुद्रमा रोकिएका रूसी तेलको ढुवानीमाथिको प्रतिबन्धमा जुन १७ सम्मका लागि छुट दिने निर्णय गरेको हो। वित्त मन्त्रालयको वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालयद्वारा जारी गरिएको नयाँ इजाजतपत्र अनुसार यसअघि मे १६ मा समाप्त भएको सामान्य लाइसेन्सको अवधि बढाएर नयाँ व्यवस्था लागू गरिएको हो। यद्यपि, यो नयाँ आदेशले इरान, उत्तर कोरिया, क्युबा वा युक्रेनका केही विवादित क्षेत्रहरूसँग सम्बन्धित कुनै पनि व्यावसायिक कारोबारलाई अनुमति भने दिएको छैन।
​यसैबीच, भारतले रूसबाट कच्चा तेल खरिद गर्ने आफ्नो अडानलाई पुनः स्पष्ट पारेको छ। अमेरिकी प्रतिबन्धहरूको दबाब र धम्कीका बाबजुद भारतले आफ्नो ऊर्जा सुरक्षा र राष्ट्रिय हितमा कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरेको छ। पेट्रोलियम मन्त्रालयकी सह-सचिव सुजाता शर्माले भारतको रूसी तेल खरिद प्रक्रिया कहिल्यै पनि अमेरिकी छुटमा निर्भर नरहेको प्रष्ट पार्नुभएको छ। उहाँका अनुसार तेल खरिदको निर्णय पूर्ण रूपमा व्यावसायिक फाइदा र देशको आवश्यकताका आधारमा मात्र तय गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको व्यापारिक सम्बन्ध तोड्न विश्वका अन्य देशहरूमाथि लगातार दबाब सिर्जना गरिरहे पनि भारतले कुनै पनि बाह्य दबाबको प्रभाव आफ्नो स्वतन्त्र ऊर्जा नीतिमा पर्न नदिने स्पष्ट संकेत दिएको छ।

About Author

Advertisement