सगरमाथामा नेपाली आरोहीको कीर्तिमानी इतिहास

IMG-20260517-WA0095

कामिरिताद्वारा ३२औँ र लाक्पाद्वारा ११औँ पटक सफल आरोहण

काठमाडौँ: सर्वोच्च शिखर सगरमाथाको आरोहण इतिहासमा आइतबार दुईवटा अभूतपूर्व र ऐतिहासिक विश्व कीर्तिमान कायम भएका छन्। ‘एभरेस्ट म्यान’ का रूपमा परिचित प्रख्यात आरोही कामिरिता शेर्पाले ३२ औँ पटक र ‘माउन्टेन क्वीन’ का रूपमा चिनिएकी लाक्पा शेर्पाले ११ औँ पटक सगरमाथाको सफल आरोहण गरी आ-आफ्नै पुराना कीर्तिमान भङ्ग गरेका हुन्।
​पर्यटन विभागका अनुसार कामिरिताले आइतबार बिहान १०:१२ बजे र लाक्पाले सोही दिन बिहान ९:३० बजे ८,८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। वसन्त ऋतुको जारी आरोहणका क्रममा अनुकूल मौसमको सदुपयोग गर्दै दुवैले नेपालको नाम विश्व पर्वतारोहणको इतिहासमा स्वर्ण अक्षरले लेखाउन सफल भएका हुन्।
​कामिरिता: आफ्नै कीर्तिमानका बाधक र ‘सगरमाथा पुरुष’
​सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका ५५ वर्षीय कामिरिता शेर्पाको यो उपलब्धि कीर्तिमानभन्दा माथि हिमालप्रतिको आजीवन समर्पणको कथा बनेको छ। २२ वर्षको उमेरदेखि पर्वतारोहण सुरु गरेका उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसयता उनी लगभग प्रत्येक वर्ष सगरमाथाको चुचुरोमा पुग्दै आएका छन्।
​सन् २०१८ को मे महिनामा २२ औँ पटक सगरमाथा चढेर उनले आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए। त्यसयता उनले प्रत्येक वर्ष आफ्नै कीर्तिमान सुधार्दै आएका छन्। उनले गत वर्ष ३१ औँ पटक तथा त्यसअघि २०८१ सालमा एकै सिजनमा दुई पटक (२९ औँ र ३० औँ) सगरमाथाको आरोहण गरेका थिए।
​उनको आरोहण व्यवस्थापन गरिरहेको ‘१४ पिक्स एक्सपिडिशन’का अनुसार कामिरिताको यो सफलताले दृढता, अनुभव र लचिलोपनको प्रदर्शन मात्र गर्दैन, समग्र शेर्पा समुदायको हिमालप्रतिको सम्मान भावलाई समेत प्रतिबिम्बित गर्दछ।
​लाक्पा शेर्पा: गुफाको जन्मदेखि ‘पर्वतकी रानी’ सम्मको यात्रा
​महिला आरोहणतर्फ संखुवासभाको मकालु क्षेत्रको एउटा ओडार (गुफा) मा जन्मिएकी लाक्पा शेर्पाले ११ औँ पटक सगरमाथाको शिखर चुमेर विश्वकै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने महिलाको कीर्तिमानलाई अझ उचाइमा पुर्‍याएकी छन्। सन् २००० मा पहिलो पटक सगरमाथा चढेकी लाक्पा सगरमाथाको सफल आरोहण गरी सुरक्षित फर्कने पहिलो नेपाली महिला हुन्।
​सन् २००३ मा आफ्नो भाइ र बहिनीसँगै एकसाथ सगरमाथा चढेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराएकी लाक्पाको जीवन संघर्षपूर्ण छ। औपचारिक शिक्षा नपाएकी र जीवनयापनका लागि भाँडा माझ्नेसम्मको काम गरेकी उनी एक एकल आमा (सिंगल मदर) हुन्। अमेरिकन आरोहीसँग विवाह गरी अमेरिका बसाइँ सरेकी उनको सन् २०१५ मा सम्बन्ध विच्छेद भएको थियो। यसअघि उनले सन् २०२२ मा ४८ वर्षको उमेरमा १० औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै ९ औँ पटकको कीर्तिमान तोडेकी थिइन्।

​पर्वतारोहणमा नेपालको बलियो खम्बा
​एकै दिन पुरुष र महिलातर्फ बनेका यी दुईवटा ऐतिहासिक कीर्तिमानले विश्व पर्वतारोहण क्षेत्रमा नेपाली आरोहीहरूको सर्वोच्चता र हिमालप्रतिको अद्भूत क्षमतालाई पुनः प्रमाणित गरिदिएको छ। पर्यटन विभागका अधिकारीहरूले यी दुवै उपलब्धिलाई नेपालका लागि गौरवको क्षण भन्दै यसले नेपालको एडवेंचर टूरिज्मलाई विश्वभर थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement