गान्तोक: सिक्किममा विद्यालय तथा कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढिकरण र भावनात्मक सशक्तिकरणका लागि ६ दिवसीय ‘मेन्टल रेजिलिएन्स’ (मानसिक सहनशीलता) कार्यशाला सुरु भएको छ। शिक्षा, मानसिक स्वास्थ्य र सिर्जनात्मक अभिव्यक्तिमार्फत समुदायमा काम गर्दै आएको गैरनाफामूलक संस्था ‘माइन्ड एन्ड म्याटर’ ले आफ्नो प्रकारको यो पहिलो विशेष कार्यशाला आयोजना गरेको हो।
यो कार्यक्रम सिक्किम सरकारको विद्यार्थी कल्याण बोर्डअन्तर्गत क्याटालिटिक चार्टर एजुकेशनल फाउन्डेसनको सहकार्यमा सञ्चालन भइरहेको छ।
विद्यार्थी कल्याण बोर्डका अनुसार विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यशालामा तादोङ कलेज र बर्तुक कलेजका विद्यार्थीहरूको सहभागिता रहेको छ। यसका साथै इन्चे स्कूल र टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरू पनि कार्यशालामा सहभागी छन्।
यसपटक यो विशेष पहललाई मुख्यमन्त्री चार्टर विद्यालयहरू, पाङथाङ जुनियर हाई स्कूल, एसएपी तथा पेन्लोङ वरिष्ठ माध्यमिक विद्यालयसम्म विस्तार गरिएको आयोजकले जनाएका छन्। यस अभियानमार्फत कुल १ हजार २ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने प्रक्षेपण गरिएको छ।
पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्यको मुद्दा पेचिलो बन्दै गइरहेका बेला यो कार्यक्रमले विद्यार्थीहरूमा मानसिक दृढता विकास गर्न, भावनात्मक चुनौतीहरू सामना गर्ने क्षमता बढाउन र उनीहरूको व्यक्तिगत विकासमा ठूलो सहयोग पुर्याउने लक्ष्य राखेको छ।











