गान्तोक: सिक्किमको तीन दिवसीय औपचारिक भ्रमणको अन्तिम दिन केन्द्रीय सञ्चार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले राजधानी गान्तोकको प्रसिद्ध एमजी रोडको भ्रमण गरेका छन्। शनिबार साँझ एमजी रोड पुगेका मन्त्री सिन्धियाले त्यहाँको स्थानीय संस्कृति, जनजीवन र रैथाने उत्पादनप्रति विशेष चासो देखाएका थिए।
भ्रमणका क्रममा उनले एमजी रोडस्थित एक स्थानीय ‘बक्खु हाउस’ पुगेर आफ्नी धर्मपत्नी प्रियदर्शिनी राजे सिन्धियाका लागि सिक्किमी समुदायको परम्परागत पोशाक ‘बक्खु’ खरिद गरेको पत्र सूचना कार्यालय (पीआईबी) ले जनाएको छ। केन्द्रीय मन्त्री सिन्धियाले शुद्ध रेशम (सिल्क) बाट बनेको आकर्षक बक्खु सेटका साथै त्यसमा प्रयोग हुने परम्परागत एप्रन र बेल्ट समेत किनेका थिए। पोशाक छनोट गर्ने क्रममा उनले प्रविधिको प्रयोग गर्दै श्रीमती सिन्धियालाई भिडियो कल गरेर उनको रुचि र सल्लाह अनुसार कपडाको रङ र डिजाइन रोजेका थिए।
बक्खु हाउसको भ्रमणपछि मन्त्री सिन्धियाले एमजी रोडकै एक स्थानीय डिपार्टमेन्टल स्टोरको समेत अवलोकन गरे। सो क्रममा उनले सिक्किमका प्रसिद्ध स्थानीय उत्पादनहरू तथा स्न्याक्स, रैथाने डल्ले खुर्सानीको पेस्ट, डल्ले भिनेगर, तितौरा र ड्राई प्लम खरिद गरे।
स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिँदै उनले पसलमा गरिएका सबै खरिदारीको भुक्तानी डिजिटल माध्यम ‘यूपीआई’ मार्फत गरेका थिए। केन्द्र सरकारले डिजिटल इन्डिया र स्थानीय उत्पादनलाई प्राथमिकता दिइरहेका बेला केन्द्रीय मन्त्री आफैंले भुक्तानीका लागि डिजिटल प्रविधि प्रयोग गर्नुलाई स्थानीय व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।










