सगरमाथासहित सात शिखर आरोहण गरेर रचेकी थिइन् इतिहास
गान्तोक: सिक्किमकी प्रख्यात महिला पर्वतारोही मणिता प्रधान ‘प्रथम केदार-थलरुपा स्मृति पुरस्कार’ बाट सम्मानित भएकी छन्। सोरेङ जिल्लास्थित एकता प्रकाशनद्वारा स्थापित यो पुरस्कार सिलगढीमा आयोजित एक विशेष समारोहका बीच उनलाई प्रदान गरिएको हो।
समारोहका प्रमुख अतिथि एवं सोरेङ–च्याखुङ क्षेत्रका विधायक आदित्य गोलेले प्रधानलाई उक्त पुरस्कार हस्तान्तरण गरे। पुरस्कारको राशि २१ हजार रुपैयाँ नगद, ताम्रपत्र, सम्मान-पत्र तथा अंगवस्त्र रहेको छ।
आयोजन समितिका सदस्य एवं साहित्यकार सीपी शर्माका अनुसार आफ्ना माता-पिताको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार अबदेखि हरेक वर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सिक्किमका विशिष्ट नागरिकहरूलाई प्रदान गरिनेछ।
पुरस्कार ग्रहण गरेकी मणिता प्रधान पूर्वोत्तर भारतकै पहिलो महिला पर्वतारोही हुन्, जसले विश्वको सर्वोच्च शिखर सगरमाथासहित संसारका सातवटा प्रमुख उच्च शिखरहरू (सेभेन समिट्स) को सफल आरोहण गरेर कीर्तिमान रचेकी छन्। यसअघि उनी सिक्किम सरकारको प्रतिष्ठित ‘सिक्किम रत्न पुरस्कार’ बाट समेत विभूषित भइसकेकी छन्।
सम्मान ग्रहण गरेपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै प्रधानले आयोजक समिति तथा एकता प्रकाशनप्रति आभार प्रकट गरिन्। सगरमाथा आरोहणपछि आफूले आम नागरिक र खेलप्रेमीहरूबाट अपार माया र समर्थन पाएको उल्लेख गर्दै उनले भनिन्, “हरेक पर्वतारोहीको अन्तिम सपना सगरमाथाको चुचुरोमा पुग्नु नै हुन्छ, जुन मैले दृढ संकल्प र निरन्तरको कडा मेहनतका कारण हासिल गर्न सकें।”











