गान्ताेक: सिक्किमको ५१औं स्थापना दिवस समारोहको ऐतिहासिक अवसरमा केन्द्र सरकारले राज्यको चौतर्फी विकासका लागि ठूलो योजनाको घोषणा गरेको छ। केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले सिक्किमको दिगो, समावेशी र भविष्यमुखी विकासका लागि मोदी सरकार प्रतिबद्ध रहेको बताउँदै २२३ करोड रुपैयाँ लागतका २१ वटा विकास आयोजनाहरूको उद्घाटन र शिलान्यास गरेका हुन्। भारतका उपराष्ट्रपति सी पी राधाकृष्णन, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तमाङ्गको विशेष उपस्थितिमा आयोजित भव्य समारोहबीच यी आयोजनाहरूको घोषणा गरिएको हो। आफ्नो सम्बोधनका क्रममा मन्त्री सिन्धियाले सिक्किमलाई विकास, प्रकृति, संस्कृति र पहिचानबीचको एउटा उत्कृष्ट सन्तुलन भएको राज्यको रूपमा प्रशंसा गर्दै यसले देशभरिकै लागि जैविक कृषि र पर्यावरण संरक्षणको एउटा उदाहरणीय मोडल प्रस्तुत गरेको बताए।
राज्यको यातायात र सञ्चार प्रणालीलाई बलियो बनाउन ४५ करोड रुपैयाँभन्दा बढी लागतका सडक र पुल आयोजनाहरू सञ्चालनमा ल्याइएका छन्। जसअन्तर्गत राष्ट्रिय राजमार्ग-१० सँग जोडिने सडकहरू, पाक्योङ्ग जिल्लाको रोंगरोंग नदी र नामची जिल्लाको रंगपो खोलामा निर्मित पुलहरूको उद्घाटन गरिएको छ। यसका साथै पर्यटन र क्षेत्रीय सहजतालाई ध्यानमा राख्दै उपराष्ट्रपति राधाकृष्णनले ग्यालसिङ्ग जिल्लाको रिम्बी खोला–युक्सम सडक सुधारका लागि २४.५२ करोड रुपैयाँको परियोजनाको शिलान्यास समेत गरेका छन्। सिक्किमलाई बाह्रै महिना सडक सञ्जालमा जोडिराख्न केन्द्रीय सडक परिवहन मन्त्री नितिन गडकरीको सहयोगमा राष्ट्रिय राजमार्ग-१० को वैकल्पिक मार्ग निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको जानकारी मन्त्री सिन्धियाले दिएका छन्।
यस ऐतिहासिक अवसरमा राज्यको कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यका साथ ३६० करोड रुपैयाँको महत्वाकांक्षी ‘मिशन सिक्किम अर्गानिक्स’ को समेत शुभारम्भ गरिएको छ। सिक्किमलाई वैश्विक स्तरमा प्रिमियम जैविक अर्थतन्त्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको यस मिसनबाट राज्यका ६६ हजारभन्दा बढी किसान परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। यस योजनाका लागि उत्तर-पूर्वी क्षेत्र विकास मन्त्रालयले ८५ करोड रुपैयाँको योगदान दिनेछ, जसले कृषि पूर्वाधार, बजार व्यवस्थापन र समन्वयलाई अझ मजबुत बनाउनेछ। यसका साथै सरकारले शिक्षा, खानेपानी र उद्योग क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ, जसअन्तर्गत नामथाङ्ग बजारको खानेपानी प्रणाली विस्तार, रेनक र बर्टुकका सरकारी कलेजहरूमा नयाँ भवन निर्माण तथा बाँस औद्योगिक पार्कको स्थापना जस्ता महत्वपूर्ण कामहरू अगाडि बढाइएका छन्।










