नयाँ दिल्ली: भारतीय हकी टीमका पूर्व दिग्गज गोलकीपर तथा जूनियर पुरुष टीमका पूर्व प्रशिक्षक पीआर श्रीजेशले पदबाट हटाइएपछि हकी इण्डियामाथि विदेशी प्रशिक्षकहरूलाई प्राथमिकता दिने आरोप लगाएका थिए। हकी इण्डियाले चाहिँ यी आरोपहरूलाई सरासरी खण्डन गरेको छ। श्रीजेशले बुधवार सोशल मीडिया प्ल्याटफर्म एक्स-मा आफ्नो निराशा व्यक्त गरेका थिए। केवल डेढ़ सालको कार्यकालमा उनको प्रशिक्षणमा जूनियर टीमले ५ वटा टुर्नामेण्ट खेलेर सबैमा पदकक जिते पनि उनको कार्यकाल अघि नबढ़ाइएको बताएका थिए। उनले लेखेका थिए, मलाई त मेरो कोचिंग करियर १.५ सालमै समाप्त भएको जस्तो लाग्दैछ। यस अवधि हामीले ५ वटा टुर्नामेण्ट खेल्यौं अनि पाँचैवटामा पदक जित्यौं। यसमा जूनियर वर्ल्ड कपको काँस्य पदक पनि सामेल छ। खराब प्रदर्शनले गर्दा कोचलाई हटाइने त मैले पहिलो सुनेको थिएँ तर यसपाली पहिलोपल्ट विदेशी कोच ल्याउन मलाई हटाइएको देखे। यसबीच हकी इण्डियाका अध्यक्ष दिलीप तिर्कीले श्रीजेशलाई ननिकालिएको अनि उनको कार्यकाल दिसम्बर २०२५-मा समाप्त भएको स्पष्ट गरेका छन्। तिर्कीले भनेका छन्, पीआर श्रीजेशको कार्यकाल अनुबन्ध अनुसार दिसम्बर २०२५-मा समाप्त भएको थियो। त्यसपछि प्रक्रिया अनुसार पदको निम्ति विज्ञापन जारी गरियो अनि मेरिटको आधारमा चयन प्रक्रिया अप्नाइयो। यसको साथमा तिर्कीले एकजना योग्य कोचको चयन गरिएको पनि जानकारी दिए, जसको घोषणा चाँड़ै गरिनेछ। हकी इण्डियाले बताएअनुसार, श्रीजेशलाई डेवलपमेण्ट टीमको कोच बन्ने प्रस्ताव दिइएको थियो, जसलाई लस एञ्जिलिस २०२८ ओलम्पिक अनि आउँदो ओलम्पिक चक्रको निम्ति महत्त्वपूर्ण मानिएको छ तर उनले त्यस प्रस्तावलाई अस्वीकार गरेका थिए। यसबाहेक उनलाई सीनियर पुरुष टीमको गोलकीपिंग कोच बन्ने प्रस्ताव पनि दिइएको थियो।
३८ वर्षीय श्रीजेशले के भारतीय कोचले भारतीय हकीलाई अघि लैजान सक्दैनन् भन्ने प्रश्न गरेका छन्। उनले भने, हकी इण्डियाका अध्यक्षले सीनियर टीमका मुख्य कोच क्रेग फुल्टन जूनियर टीमको निम्ति विदेशी मुख्य कोच चाहन्छन् भन्ने बताए तर भारतीय कोच भारतीय हकीलाई अघि लैजान सक्षम छैनन् र? केन्द्रीय खेल मन्त्री मनसुख माण्डवियाले मलाई भारतीय हकीको भविष्यको निम्ति कोचिंगमा ओर्लिनु भनेका थिए। यसबीच हकी इण्डियाका अध्यक्ष तिर्कीले चाहिँ श्रीजेशको दावीहरूलाई गलत बताउँदै उनले कहिले पनि विदेशी कोचलाई प्राथमिकता दिइने कुरा नगरेको बताएका छन्। उनले भने, हामी २०३६ ओलम्पिक भिजनलाई ध्यानमा राखेर काम गरिरहेका छौं अनि भारतीय कोचहरूलाई विकसित गर्नु हाम्रो प्राथमिकता हो। हकी इण्डियाले अहिलेसम्म ६०० भन्दा अधिक भारतीय कोचहरूलाई प्रमाणित गरेको छ। यसबीच प्राप्त जानकारीहरू अनुसार, फ्रान्सका पूर्व कोच फ्रेडरिक सोयेज भारतको अण्डर-२१ पुरुष टीमको कोच बन्ने दौड़मा सबैभन्दा अघि रहेका छन्। ४८ वर्षीय सोयेजले फ्रान्स र स्पेनको राष्ट्रिय टीमहरूलाई कोचिंग दिएका छन्। उनले २०१६-मा स्पेनलाई पाँचौं स्थानसम्म पुऱ्याएका थिए अनि उनलाई पेनल्टी कर्नरको विशेषज्ञ मानिन्छ। उल्लेखनीय छ, श्रीजेशको कार्यकालमा भारतीय जूनियर टीमले धेरै महत्त्वपूर्ण सफलताहरू हासिल गऱ्यो। यसमा सुल्तान अफ जोहोर कपको फाइनलमा पुऱ्याउनु, जूनियर वर्ल्ड कपमा काँस्य पदक र २०२४ जूनियर एशिया कप (मस्कट)-मा स्वर्ण पदक प्रमुख छ। यसबाहेक श्रीजेशलाई भारतीय हकीका महानतम गोलकीपरहरूमा एक मानिन्छ। उनले २०२० टोक्टो ओलम्पिक अनि २०२४ पेरिस ओलम्पिकमा भारतलाई काँस्य पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।











