इन्धन संकटका बीच प्रधानमन्त्री मोदीको ठूलो निर्णय

pm-convay1-sixteen_nine

नयाँ दिल्ली: ​पश्चिम एसियामा जारी होर्मुज संकटका कारण उत्पन्न पेट्रोल-डीजल अभावलाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षा व्यवस्थामा कटौती गर्दै एउटा महत्वपूर्ण सन्देश दिनुभएको छ। प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सवारी लावालस्कर (काफिला)लाई ५० प्रतिशतले घटाउन विशेष सुरक्षा समूह (एसपीजी)लाई निर्देशन दिनुभएको छ। सुरक्षामा कुनै सम्झौता नगरी सवारी साधनको संख्या मात्र कम गरिएको यो निर्णय हालैका गुवाहाटी र वडोदरा भ्रमणहरूमा कार्यान्वयनमा आइसकेको छ। अब प्रधानमन्त्रीको सवारीमा विद्युतीय गाडीहरूको प्रयोगलाई प्राथमिकता दिइनेछ।
​प्रधानमन्त्री मोदीले देशबासीहरूलाई पनि इन्धन खपत कम गर्न विशेष अपील गर्नुभएको छ। उहाँले सम्भव भएसम्म निजी गाडीको सट्टा मेट्रो, विद्युतीय बस र सार्वजनिक यातायातको प्रयोग गर्न आग्रह गर्नुभयो। इन्धन बचाउनका लागि सरकारी र निजी दुवै क्षेत्रका कार्यालयहरूलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम गर्ने) संस्कृति र भर्चुअल मिटिङहरूलाई प्रोत्साहन दिन उहाँले सुझाव दिनुभएको छ। एउटै गाडीमा धेरै जना मिलेर यात्रा गर्ने (कारपुलिङ) अभ्यासलाई पनि उहाँले जोड दिनुभएको छ।
​इन्धन मात्र नभई, प्रधानमन्त्रीले देशको वैदेशिक मुद्रा सञ्चिति जोगाउन जनतालाई तत्कालका लागि सुन खरिद नगर्न समेत अनुरोध गर्नुभएको छ। सुन आयातमा देशको ठूलो धनराशि बाहिरिने भएकाले अवस्था सामान्य नहुन्जेल सुन खरिद टार्न उहाँको आग्रह छ। यसैबीच सरकारले सुन र चाँदीको आयात शुल्क (ट्यारिफ) समेत वृद्धि गरेको छ। प्रधानमन्त्री कार्यालयले सबै राज्यका मुख्यमन्त्रीहरूलाई एउटा कार्ययोजना पठाउँदै विद्युतीय सवारीको प्रयोग बढाउन र अनलाइन बैठकहरू मार्फत काम चलाउन सुझाव दिएको छ।

About Author

Advertisement