सिलगढी: सिलगढीको पूर्वी बाइपाससँग जोडिएको उत्तर एकतियासाल क्षेत्रमा भूमि कब्जालाई लिएर तनावपूर्ण अवस्था सिर्जना भएको छ। आरोप अनुसार कथित ‘केजीएफ गिरोह’ का सदस्यहरूले करिब डेढ एकर जमिन जबरजस्ती कब्जा गरेका छन्। आरोपअनुसार अनुपम मैत्रले केही वर्षअघि उक्त जमिन खरिद गरेका थिए र यस वर्षको अप्रिलसम्म अवस्था सामान्य थियो। तर पछि अचानक केही असामाजिक तत्वहरू जेसीभी मेसिन लिएर जमिनमा प्रवेश गरी त्यहाँ रहेका संरचना भत्काए र सुरक्षामा खटिएका चौकीदारमाथि कुटपिट गर्दै जमिन कब्जा गरे। पछि त्यहाँ ‘नीलम सरिया’ नामका अर्का व्यक्तिको नाम समेत लेखिएको आरोप छ। घटनापछि अनुपम मैत्रले भक्तिनगर प्रहरी चौकीमा उजुरी दर्ता गरेका थिए। तर पुलिसको कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनी अदालत पुगे। अदालतले पछि दुवै पक्षको प्रवेशमा रोक लगाएको थियो। त्यसपछि पनि जमिनमा नयाँ निर्माण कार्य र सुरक्षा गार्ड तैनाथ गरिएको आरोप उठेको छ।मङ्गलबार अनुपम मैत्र घटनास्थलमा पुगेर सञ्चारमाध्यमसामु प्रहरीको भूमिकामाथि प्रश्न उठाए। स्थानीय बासिन्दाहरूले लामो समयदेखि तृणमूल कांग्रेसको संरक्षणमा एक भूमिमाफिया गिरोह सक्रिय रहेको र नक्कली कागजातको प्रयोग गरेर जमिन कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। यस विषयमा सिलगढीका पुलिस आयुक्तले आफूलाई घटनाबारे जानकारी नभएको बताउँदै, विषयको छानबिन गरिने र भक्तिनगर प्रहरी चौकीसँग समन्वय गरी दोषीहरूमाथि कडा कारबाही गरिने आश्वासन दिएका छन्।











