गान्तोक: सिक्किम भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष डी.आर. थापा तथा महासचिव अर्जुन राई असम सरकारको विशेष निमन्त्रणामा असममा आयोजित राष्ट्रिय जनतान्त्रिक गठबन्धन ३.० सरकारको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। यस ऐतिहासिक अवसरमा प्रदेश अध्यक्ष डी.आर. थापाले सिक्किम भारतीय जनता पार्टीको तर्फबाट लगातार दोस्रो कार्यकालका लागि असमका मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका डा. हिमन्त विश्व शर्मालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रदेश अध्यक्ष थापाले प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील तथा दूरदर्शी नेतृत्वमा डा. हिमन्त विश्व शर्माको निरन्तर नेतृत्वले विकसित भारत–विकसित असमको लक्ष्य सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उनले असममा तीव्र विकास, समृद्धि, शान्ति तथा सर्वाङ्गीण प्रगतिका नयाँ युगको सुरुआत हुने बताएका छन्।उनले असमले सिक्किमसहित सम्पूर्ण उत्तरपूर्वी क्षेत्रको मार्गदर्शक तथा अग्रणी राज्यको रूपमा आफ्नो स्थान स्थापित गरेको उल्लेख गर्दै सक्षम तथा दृढ नेतृत्वमा सम्पूर्ण उत्तरपूर्वी क्षेत्रको विकासले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, क्षेत्रीय एकता, सुदृढ पूर्वाधार, सांस्कृतिक संरक्षण तथा समावेशी आर्थिक विकासलाई अझ बलियो बनाइने अपेक्षा गरिएको बताएका छन्।

सिक्किम भारतीय जनता पार्टीले उत्तरपूर्वी क्षेत्रको समग्र विकासका लागि असम र सिक्किमबीच अझ सशक्त सहकार्यको अपेक्षा गरेको जनाएको छ।











