सोमनाथ (गुजरात): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गुजरातको ऐतिहासिक सोमनाथ मन्दिरमा ‘महापूजा’ तथा विशेष धार्मिक अनुष्ठान सम्पन्न गर्नुभएको छ। सन् १९५१ मा पुन:निर्माण गरिएको यस मन्दिरको लोकार्पण भएको ७५औँ वर्षगाँठको अवसरमा आयोजित ‘सोमनाथ अमृत महोत्सव’ अन्तर्गत प्रधानमन्त्रीले पूजाअर्चना गर्नुभएको हो।
मन्दिर प्रवेश गर्नुअघि प्रधानमन्त्री मोदीले भव्य रोड शो गर्नुभएको थियो। त्यसपश्चात् वैदिक मन्त्रोच्चारका बीच उहाँले भगवान् शिवको प्रतिक शिवलिंगमा जलाभिषेक र महापूजा गर्नुभयो। विशेष समारोहका क्रममा देशभरका प्रमुख तीर्थस्थलहरूबाट संकलन गरिएको पवित्र जल क्रेनको सहायताले मन्दिरको शिखरमा अर्पण गरिएको थियो, जसलाई ‘कुम्भाभिषेक’ भनिएको छ।
यो ऐतिहासिक अवसरलाई भव्य बनाउन भारतीय वायुसेनाको ‘सूर्यकिरण एरोबेटिक टीम’ले मन्दिरको आकाशमा विशेष प्रदर्शन गरेको थियो। वायुसेनाका विमानहरूले स्वदेशी प्रविधिबाट निर्मित धुवाँको प्रयोग गरी आकाशमा भारतीय झण्डा ‘तिरंगा’को आकृति बनाएका थिए। उक्त हवाई कौशलको अवलोकन प्रधानमन्त्री मोदीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र उपमुख्यमन्त्री हर्ष संघवीले गर्नुभएको थियो। सोमनाथ अमृत महोत्सवले भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले ७५ वर्षअघि गर्नुभएको मन्दिरको पुन:लोकार्पणको स्मरण गराएको छ।










