खरसाङको अम्बटे चियाबारीस्थित पाँचघरे गाउँमा विश्वव्यापी प्रकृति कोषबाट तीन दिवसीय परम्परागत मौरीपालन प्रशिक्षण सम्पन्न

IMG-20260511-WA0072

खरसाङ: खरसाङको अम्बटे चियाबारीस्थित पाँचघरे गाउँको सार्वजनिक भवनमा गत 8 मईदेखि चलिरहेको डब्लुडब्लुएफ-भारत (विश्वव्यापी प्रकृति कोष -भारत) को आयोजनामा तीन दिवसीय परम्परागत मौरीपालन प्रशिक्षण सम्पन्न भएको छ। यस प्रशिक्षणमा अम्बटे चियाबारी अन्तर्गत विभिन्न गाउँका मोठ 21 जना मौरी पालकहरूले भाग लिएका थिए। तेस्रो चरणको यो प्रशिक्षणमा हालसम्म यहाँका जम्मा ६१ मौरी पालकहरूलाई डब्लुडब्लुएफले सहयोग गरिसकेको छ भने अम्बटे र मकैबारी चिया बगानका लगभग एकसय घर परिवारले डब्लुडब्लुएफ-भारतले हिमालय कार्यक्रमको मौरीपालन तालिम र सहयोग हस्तक्षेपबाट लाभान्वित गराएका छन्। मौरीपालन प्रशिक्षणको मुख्य उद्देश्य परम्परागत मौरी पालकहरूलाई वैज्ञानिक मौरी पालन अभ्यासहरू अप्नाउन सक्षम बनाउनु हो। यसले मौरी र मौरी पालक तथा पर्यावरण अनि पृथ्वी लगायत मानिसहरू सबैलाई फाइदा पुर्‍याउनेछ भन्ने जानकारी डब्लुडब्लुएफ भारतका परियोजना अधिकारी, अभिषेक प्रधानले जानकारी दिएका छन्। उनले यस तीन दिवसीय प्रशिक्षणको अन्तिम दिन प्रशिक्षार्थीहरूलाई आधुनिक मौरी पालनका सामग्रीहरू पनि प्रदान गरिएको जनाए। डब्लुडब्लुएफले भारतमा धेरै वर्ष अघिदेखि मौरी पालन प्रशिक्षण दिएर मौरीपालकहरूलाई धेरै फाइदा पुऱ्याइरहेको जनाउँदै अझ आगामी दिनहरूमा यसलाई युद्धस्तरमा अघि बढाएर लैजाने अवगत गराए। यता प्रशिक्षक तथा लामा एपेरीका प्रमुख पीडी लामाले मौरी पालनबाट केवल मौरीपालकहरूलाई मात्र फाइदा नपुऱ्याएर यसले पृथ्वी अनि यहाँ बस्ने जीवजन्तु, किरा फट्याङ्ग्रा तथा उद्भीदहरूलाई पनि फाइदा पुग्ने जनाए। लामाले जुन दिन यो पृथ्वीबाट मौरीको अस्तित्व हराएर जान्छ त्यसै समयदेखि मानव जातिको पनि अस्तित्व सकिएन जाने अनुसन्धानकर्ताहरूको भनाइलाई उल्लेख गरे। उनले अम्बटेमा सम्पन्न यस तीन दिवसीय प्रशिक्षण खुबै असल ढङ्गमा सम्पन्न हुन सकेकोमा हर्ष प्रकट गर्दै सबै प्रशिक्षार्थीहरूलाई बधाई पनि दिए। यता अम्बटेवासी तथा प्रशिक्षार्थीहरूको तर्फबाट भूतपूर्व प्रधान अध्यापक सन्तोष थापाले आफूले आफ्नो शिक्षण पेसाबाट अवकाश ग्रहण गरेपछि यही मौरी पालन क्षेत्रलाई अप्नाएको जनाउँदे यसले आर्थिक उन्नति मात्र नगरेर पृथ्वीको समयचक्रलाई समेत बचाएर राख्ने बताए। थापाले जतिबेला अम्बटे चियाबारी बन्द अवस्थामा थियो। त्यतिबेला डब्लुडब्लुएफ-भारतले यहाँका मौरीपालकहरूलाई लिएर मौरीपालन प्रशिक्षण गरेर मानिसहरूलाई स्वनिर्भर बनाएको उल्लेख गर्दै यसपल्ट पनि यसरी तीन दिवसीय प्रशिक्षण गरेर स्थानीय मौरीपालकहरूलाई धेरै सहयोग गरेको जनाए। तिनले यसको निम्ति डब्लुडब्लुएफका परियोजना अधिकारी अभिषेक प्रधान, प्रशिक्षक पीडी लामा, पाँचघरे ग्राम कल्याण समितिका अध्यक्ष बलराम प्रधान, बुङकुलुङका एग्रो फारमिङका प्रमुख कमल सुब्बा लगायत स्थानीय गण्यमान्य व्यक्तिहरू अनि यस मौरीपालनका प्रशिक्षार्थीहरूलाई यस प्रशिक्षणलाई सफल बनाइदिएकोमा आभार प्रकट गरेका छन्। तिनले आगामी दिनहरूमा पनि अझ यस प्रकारको कार्यक्रम गरिने जनाए।

About Author

Advertisement