गान्तोक: नाम्ची जिल्लाको लिङ्गो पेपथाङ प्राथमिक विद्यालयले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र विद्यालयमा आकर्षण बढाउन ऐतिहासिक पहल सुरु गरेको छ। नयाँ शिक्षा नीति (एनइपी २०२०) को मर्म अनुरूप विद्यार्थीहरूलाई दक्ष बनाउने उद्देश्यले विद्यालयले आइतबारदेखि ‘निःशुल्क आइतबारे कक्षा’ सुरु गरेको हो।
विद्यार्थीको घट्दो सङ्ख्यालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिले विगत पाँच वर्षदेखि विद्यार्थीहरूलाई घरबाट विद्यालयसम्म ल्याउन निःशुल्क सवारी साधनको व्यवस्था समेत गर्दै आएको छ। आइतबार सञ्चालन हुने विशेष कक्षामा सामान्य ज्ञान, अङ्ग्रेजी भाषामा बोलचाल र शारीरिक विकासलाई प्राथमिकता दिइएको छ। यस पहलमा लिङ्गी वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाचार्य प्रह्लाद शर्माले स्रोत व्यक्तिको रूपमा विद्यार्थीहरूलाई विभिन्न खेल र क्रियाकलापमार्फत अङ्ग्रेजी भाषा सिक्ने तरिका सिकाउनुभएको थियो।
विद्यालयका प्रभारी विनोदकुमार शर्मा र व्यवस्थापन समितिका अध्यक्ष युवराज दवाडीका अनुसार, आगामी दिनमा अन्य विभिन्न विद्यालयका दक्ष शिक्षकहरूलाई आमन्त्रण गरेर यो अभियानलाई निरन्तरता दिइनेछ। यो स्वेच्छिक पहलमा अभिभावक र शिक्षक दुवैको पूर्ण सहमति रहेको छ। यस विद्यालयले सन् २०१३ देखि हालसम्म पटक-पटक आफ्ना विद्यार्थीहरूलाई मुख्यमन्त्री मेधावी छात्रवृत्ति (सीएमएमएस) दिलाउन सफल भएर आफ्नो उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आएको छ।










