गान्तोक: सिक्किमको राज्यत्वको पचासौँ वर्ष पूरा भएको अवसरमा २८ अप्रिल २०२६ मा गान्तोकमा सम्पन्न समापन समारोहअन्तर्गत प्रस्तुत सांस्कृतिक कार्यक्रमको आयोजक समितिले नक्कली सामाजिक सञ्जाल खाताविरुद्ध पुलिसमा उजुरी दर्ता गरेको छ।
आयोजक समितिले “एसडीएफ २६-अरिथाङ” र “एसडीएफ-अरिथाङ” नामका नक्कली खाताहरू सञ्चालन गरी आफूहरू तथा कार्यक्रमसँग सम्बन्धित व्यक्तिहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले झुटा, बनावटी र द्वेषपूर्ण सामग्रीहरू प्रसारण गरिएको आरोप लगाएको छ।
समितिका अनुसार ती खाताहरूबाट फैलाइएका सामग्रीहरू भ्रामक प्रकृतिका हुनुका साथै कृत्रिम रूपमा तयार गरिएका इलेक्ट्रोनिक सामग्रीसमेत प्रयोग गरी बदनाम गर्ने प्रयास गरिएको पाइएको छ।
उक्त विषयमा सदर पुलिस थाना, गान्तोकमा औपचारिक उजुरी दर्ता गर्दै प्राथमिकी दर्ताको माग गरिएको छ। साथै, प्रसारित सामग्रीहरूको इलेक्ट्रोनिक प्रमाण सुरक्षित राख्न, फरेन्सिक परीक्षण गर्न तथा घटनामा संलग्न सबै व्यक्तिहरू- सञ्चालनकर्ता, सिर्जनाकर्ता, आर्थिक सहयोगकर्ता वा प्रचारकमाथि कडा कानुनी कारबाही गर्न अनुरोध गरिएको छ।
आयोजक समितिले यस्ता गतिविधि प्रति कडा आपत्ति जनाउँदै स्पष्ट पारेको छ कि परिश्रमी व्यक्तिहरूको प्रतिष्ठा हानि गर्ने तथा गलत सूचना फैलाउने उद्देश्यले नक्कली सामाजिक सञ्जाल खाताहरूको दुरुपयोग कुनै पनि हालतमा सह्य नहुनेछ।
समितिले यस्ता कार्यहरूलाई कानूनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ।








