दिल्ली क्यापिटल्सलाई पराजित गरी प्लेअफ्-को दौड़मा कायम रह्यो केकेआर

IMG-20260508-WA0085

नयाँ दिल्ली: आईपीएल २०२६-को ५१औं म्याचमा ३ पल्टको च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर)-ले दिल्ली क्यापिटल्सलाई सजिलै ८ विकेटले पराजित गऱ्यो। यो केकेआर-को जारी सीजनमा लगातार चौथो जीत हो अनि यस जीतको साथ टीम १० वटा म्याचमा ९ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको सातौं स्थानमा पुग्यो। यसरी ११ वटा म्याच खेलेर आठौं स्थानमा रहने दिल्ली क्यापिटल्ससँग ८ पोइण्ट्स रहेको छ। अरुण जेटली स्टेडियममा शुक्रवार टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्स-ले खराब शुरुवातपछि २० ओभरमा ८ विकेट गुमाएर जसोतसो १४२ रन बनायो। जवाफमा केकेआर-ले पनि खराब शुुरुवातपछि ओपनर फिन एलन (अविजित १०० रन)-को विध्वंशी शतकको सहायताले १४.२ ओभरमै २ विकेटमा १४७ रन बनाएर म्याच जित्यो। जीतको निम्ति १४३ रनको लक्ष्यलाई पीछा गर्दै केकेआर-ले एक समय ३१ रनमै २ विकेट गुमाएको थियो। कप्तान अजिंक्य रहाणे १३ रन र अंगकृष रघुवंशी केवल १ रन बनाएर आउट भए। त्यहाँबाट ओपनर एलनले क्यामरन ग्रीनसँग शतकीय पार्टनरशीप गरी टीमलाई जीत दिलाए। यी दुईजनाले तेस्रो विकेटको निम्ति ६४ बलमा ११६ रनको अटूट पार्टनरशीप गरे। यसमा एलनले १० वटा छक्का र ५ वटा चौकाको सहायताले अविजित १०० रन बनाए। यसरी ग्रीनले २७ बलमा २ वटा छक्काको सहायताले अविजित ३३ रन बनाए। यसअघि पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सको तर्फबाट ओपनर पाथुम निसांकालाई छोड़ेर अन्य कसैले पनि खुलेर खेल्न सकेनन्। यसबाहेक लगातार विकेटको पतनले होम टीमलाई झट्का लाग्यो। निसांकाले २९ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको सहायताले ५० रन बनाए। केवल ८९ रनमा ५ विकेट गुमाएपछि दिल्ली क्यापिटल्सले रन रेटलाई उकास्न सकेन। अन्तमा अशुतोष शर्माले ३९ रन बनाएर टीमलाई हेर्न लायकको स्कोरसम्म पुऱ्याए। उनले २८ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। केएल राहुले २३ रनको योगदान दिए। नितिश राणा ८, समीर रिज्वी ३, ट्रिस्टन स्टब्स २ र कप्तान अक्षर पटेल केवल ११ रन बनाएर आउट भए। केकेआर-का बलरहरूमा अनुकुल रोय र कार्तिक त्यागीले २-२ विकेट लिए।

About Author

Advertisement