काेलकाता: पश्चिम बंगालका राज्यपाल आर. एन. रविले संवैधानिक अधिकार प्रयोग गर्दै मे ७, २०२६ देखि लागू हुने गरी राज्य विधानसभा भङ्ग गर्नुभएको छ। विधानसभा चुनावको नतिजा सार्वजनिक भएपछि भारतीय जनता पार्टीले २०७ सिटसहित स्पष्ट बहुमत प्राप्त गरे पनि मुख्यमन्त्री ममता बनर्जीले राजीनामा दिन अस्वीकार गरेपछि राज्यमा एउटा अभूतपूर्व संवैधानिक टकरावको स्थिति सिर्जना भएको थियो। ममता बनर्जीले आफूलाई षड्यन्त्रपूर्वक हराइएको दाबी गर्दै पदबाट हट्न नचाहे पनि विधानसभाको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै राज्यपालले सदन भङ्ग गर्ने औपचारिक कदम चाल्नुभएको हो।
संवैधानिक विज्ञहरूका अनुसार मुख्यमन्त्रीले राजीनामा नदिएको यस्तो दुर्लभ परिस्थितिमा राज्यपालले धारा ३५६ अन्तर्गत राष्ट्रपति शासन लागू गर्न सिफारिस गर्ने विकल्प रहन्छ। यद्यपि मे ७ मा विधानसभाको अवधि स्वतः समाप्त हुने भएकाले त्यसपछि वर्तमान सरकारको कुनै कानुनी अस्तित्व रहँदैन। ममता बनर्जीको यो अडानलाई धेरैले राजनीतिक र प्रतीकात्मक विरोधका रूपमा हेरेका छन्, जसले चुनाव निष्पक्ष नभएको सन्देश दिन खोजेको छ। अब राज्यपालले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गर्नुभएको छ भने भाजपाले आगामी शनिबार नयाँ सरकारले शपथ लिने दाबी गरेको छ।









