दार्जिलिङ: पश्चिम बङ्गाल विधानसभा चुनावको परिणाम घोषणा भएको केही दिनपछि आज दार्जिलिङस्थित जज बजारमा रहेको केन्द्रीय पार्टी कार्यालयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का केन्द्रीय अध्यक्ष अनित थापाले पार्टी नेतृत्व तथा कार्यकर्ताहरूसँग महत्त्वपूर्ण भेटघाट गरे। सो भेटघाटपछि उनले पत्रकारहरूसँग संवाद गर्दै चुनाव परिणाम, जीटीए, र पहाडको राजनीतिक परिस्थितिबारे आफ्ना विचार राखे। पराजयलाई स्वीकार गर्दै अनित थापाले भने, “हामीले तीनपल्ट एमएलए चुनाव हारेका हौँ। तर पहिलाभन्दा भोट बढेको छ। बङ्गालमा परिवर्तनको लहर ठूलो थियो, त्यसैले पनि हामी हारेका हौँ। जनताले बीजेपीमाथि आस्था राखेर भोट हालेका हुन्। त्यसलाई मैले सम्मान गर्नु नै पर्छ।” उनले थपे, पञ्चायत चुनाव र जीटीए चुनावमा जनताले उनीहरूकै काम देखेर मत दिएका थिए, तर दिल्ली र कोलकातासँगको लडाईँमा पार्टी सधैँ पछि पर्दै आएको छ।जीटीएको भविष्यबारे थापाले भने, बीजेपीको सरकार पूर्णरूपमा गठन भएपछि मात्र थाहा हुनेछ कि नयाँ सरकारले जीटीएलाई कसरी हेर्छ र कस्तो सहयोग गर्छ। “जीटीए खारेज गर्ने हो भने त्यसभन्दा ठूलो केही व्यवस्था दिनुपर्छ। त्यो व्यवस्था पाइयो भने म पनि खुसी हुनेछु र त्यो व्यवस्थामा पनि हामी चुनाव लड्नेछौँ,” उनले स्पष्ट पारे। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले चुनाव परिणाम पश्चात् १४ मईमा लालकोठी घेराउ कार्यक्रम घोषणा गरेकोमा थापाले कडा प्रतिक्रिया दिए। उनले भने, “बिमल गुरुङले लालकोठी घेराउ गर्छु भन्यो। म पनि त्यही दिन दार्जिलिङमा शान्ति जुलुस निकाल्नेछु।” उनले पहाडमा डरको वातावरण सिर्जना हुन नदिने प्रतिबद्धता जनाउँदै भने, “पहाडमा शान्तिभङ्ग हुन म कदापि दिने छैनौँ। पहाडको शान्तिका लागि हामीले धेरै सङ्घर्ष गरेका छौँ।”
थापाले जोड दिए, उनको पार्टी कुनै पनि हालतमा टकरावको बाटोमा जाने छैन। “हामी कन्फ्रन्टेसनमा गयौँ भने जनताले दुःख पाउँछन्,” उनले भने। बीजेपी अहिलेसम्म पहाडमा अनुशासित भएर रहेको र त्यो परम्परा जारी रहोस् भन्ने आफ्नो अपेक्षा पनि उनले व्यक्त गरे।









