खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीले आज पार्टी अध्यक्ष मन घिसिङसँग दार्जीलिङस्थित गोरामुमो केन्द्रीय कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ। खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले अध्यक्ष मन घिसिङसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नुका साथै हालै सम्पन्न पश्चिम बंगाल विधानसभा चुनावको ऐतिहासिक परिणामप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ। भेटघाटका क्रममा खरसाङ ब्राञ्च कमिटीले दार्जीलिङ, खरसाङ र कालेबुङ विधानसभा क्षेत्रमा भाजपा गठबन्धन दलका उम्मेदवारहरूले भारी मतका साथ ऐतिहासिक विजय हासिल गरेकोमा पार्टी अध्यक्ष मन घिसिङलाई हार्दिक बधाई ज्ञापन गरेका थिए। प्रतिनिधि मण्डलले यस विजयलाई पहाडका जनताको परिवर्तनप्रतिको विश्वास, सुशासनप्रतिको अपेक्षा तथा स्थायी राजनैतिक समाधान, विकासमुखी राजनीतिको स्पष्ट जनादेशका रूपमा व्याख्या गरेको बताइएको छ।

उक्त अवसरमा पार्टी अध्यक्ष मन घिसिङले खरसाङ ब्राञ्च कमिटीप्रति धन्यवाद व्यक्त गर्दै जनताको विश्वासलाई सम्मान गर्दै आगामी दिनमा अझ जिम्मेवारीका साथ जनताको आकांक्षा पूरा गर्न सबै तहका कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए। उनले पहाड, तराई र डुवर्सका जनताको भावना तथा अधिकारको संरक्षण गर्दै क्षेत्रको सर्वाङ्गीण विकासका लागि गोरामुमो निरन्तर प्रतिबद्ध रहने पनि स्पष्ट पारे।बभेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा खरसाङ ब्राञ्च कमिटीका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको जानकारी पार्टी स्रोतले दिएको छ।









