यसपाली सम्पूर्ण जनताको जीत भएको छ: सोनाम लामा
खरसाङ: खरसाङ विधानसभा समष्टिमा फेरि एकपटक कमल फुलेको छ। गत २०२१ मा पनि भारतीय जनता पार्टीको उम्मेद्वार बीपी बजगाईले सजिलै जीत हाँसिल गरेका थिए भने यसपाली पनि खरसाङ विधानसभा समष्टिबाट कमल फुलेको छ। गत २३ अप्रेलमा भएको बंगाल विधानसभा चुनावको पहिलो चरणमा खरसाङ विधानसभा समष्टिको लागि पनि चुनाव भएको थियो। उक्त चुनावमा सातजना उम्मेद्वारहरु चुनाउ मैदानमा उत्रिएका थिए भने यसमा सातजना उम्मेद्वारहरुमध्ये भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। उनले जम्मा ७४ हजार ८ सय ७८ मत प्राप्त गरेका छन्। उनीबाहेक दोस्रो सर्वाधिक मत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले प्राप्त गरेका छन्। उनले जम्मा ५७ हजार ८ सय ७१ मत प्राप्त गरेका छन्। यसको साथै खरसाङ विधानसभा समष्टिबाट भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आफ्नो चिर प्रतिद्वन्दी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई १७ हजार ७ भोटले जितेर खरसाङका विधायक निर्वाचित भएका छन्। यसको तेस्रो स्थानमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले ४१ हजार ८८ मत प्राप्त गरेका छन्। त्यसरी नै सीपीआईएमको उम्मेद्वार उत्तम शर्माले १ हजार ६ सय ९० भोट, कंग्रेसको सरोजकुमार खत्रीले १ हजार ६ सय ५१ भोट, निर्दलीय उम्मेद्वार मोहन शर्माले १ हजार ३ सय ९९ भोट र अर्का निर्दलीय उम्मेद्वार सुमेन्द्र तामाङले १ हजार ४ सय ८८ भोट पाएका छन्। यसबाहे नोटामा पनि १ हजार ७ सय ६८ भोट परेको छ भने १ हजार ३९ भोट रध्द भएको छ। खरसाङ विधानसभा समष्टिमा जम्मा भोट १ लाख ८२ हजार ८ सय ७२ भोट कास्ट भएको छ। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले जीतेपछि बाहिर आएर पत्रकारहरुसित कुराकानी गर्दै भने, यसपाली सम्पूर्ण जनताको जीत भएको छ। बंगालमा पनि परिवर्तन भएको छ। यसपाली बंगालभरि नै फ्रि रुपमा चुनाउ भयो। चुनाउ आयोगले पनि यसपाली निष्पक्ष रुपमा चुनाउ गराएको छ र मानिसहरु खुलेर बाहिर आएर मतदान गरेका छन्।’
सोनाम लामाले अघि भने, यसपालीको परिणामले बंगालमा सरकार परिवर्तन गराएको छ। पहाडले पहिलादेखि नै भारतीय जनता पार्टीलाई साथ दिएको थियो भने यसपाली सम्पूर्ण बंगालमा नै परिवर्तनको लहर देखिएको छ।’ आफ्नो जीतप्रति भाजपाको उम्मेद्वार सोनाम लामाले खरसाङ विधानसभा समष्टिको सम्पूर्ण जनतालाई आभार प्रकट गरेका छन्।










