गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले असम, पश्चिम बंगाल र पुडुचेरी विधानसभा निर्वाचनमा भाजपा र एनडीए गठबन्धनले हासिल गरेको सानदार जितको उच्च प्रशंसा गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ। यस ऐतिहासिक सफलताको सन्दर्भमा बोल्दै प्रदेश भाजपा अध्यक्ष डीआर थापाले असमको जितले प्रधानमन्त्री नरेन्द्र मोदीको विकासवादी सोच र मुख्यमन्त्री हिमन्त बिस्व सरमाको गतिशील नेतृत्वमा जनताको अटुट विश्वास रहेको पुष्टि गरेको बताउनुभयो। असममा भएको यो ‘ह्याट्रिक’ जित तल्लो तहका कार्यकर्ताहरूको अथक परिश्रम र समर्पणको परिणाम भएको उहाँको भनाइ छ।
पश्चिम बंगालको चुनावी नतिजालाई विशेष महत्त्व दिँदै अध्यक्ष थापाले यसलाई वर्षौँदेखिको संघर्ष र अकल्पनीय बलिदानको प्रतिफलका रूपमा चित्रण गर्नुभयो। उहाँले बंगालको जितलाई तृणमूल कांग्रेसको कुशासनविरुद्ध लड्ने क्रममा आफ्नो ज्यान गुमाउने वीर कार्यकर्ताहरू र सहिद भाइबहिनीहरूप्रति समर्पित गर्नुभयो। उहाँका अनुसार यो सफलता अनगिन्ती चुनौतीहरूको सामना गर्ने र पीडालाई शक्तिमा बदल्ने प्रत्येक कार्यकर्ताको धैर्यताको उपज हो। केन्द्र र राज्य नेतृत्वको सही मार्गदर्शनले गर्दा नै बंगालमा ठुलो राजनीतिक संघर्षलाई विजयमा बदल्न सम्भव भएको उहाँले उल्लेख गर्नुभयो।
पुडुचेरीमा एनडीए गठबन्धनको जितप्रति पनि अध्यक्ष थापाले खुसी व्यक्त गर्दै समग्र जितको श्रेय केन्द्रीय नेतृत्वलाई दिनुभएको छ। यी सबै सफलताहरूले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा राष्ट्रिय अध्यक्ष र राज्य स्तरका प्रभावशाली नेतृत्वप्रति जनताको बढ्दो भरोसालाई प्रष्ट पारेको उहाँले बताउनुभयो। दूरदर्शिता र दृढ संकल्पका साथ अघि बढाइएका चुनावी अभियानहरूले नै भाजपालाई देशभर थप सशक्त बनाएको निष्कर्ष उहाँले व्यक्त गर्नुभएको छ।











