अहमदाबाद: आईपीएल २०२६-को ४६औं म्याचमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गऱ्यो। आईपीएलको जारी सत्रमा पञ्जाब किंग्सको यो लगातार दोस्रो हार अनि गुजरातको यो लगातार तेस्रो जीत हो। पञ्जाब किंग्स यस हारपछि पनि ९ वटा म्याचमा १३ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो जबकि गुजरात टाइटन्स १० वटा म्याचमा १२ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। नरेन्द्र मोदी स्टेडियममा आइतवार टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनायो। खराब शुरुवातपछि पञ्जाब किंग्सको निम्ति सूर्यांश शेगडेले सर्वाधिक ५७ रन बनाए। उनले छैटौं नम्बरमा ओर्लिएर ५ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक मार्कस स्टोइनिसले ३१ बलमा ४० रन बनाए। सूर्यांश र स्टोइनिसले छैटौं विकेटको निम्ति ७९ रनको पार्टनरशीप गरे। कप्तान श्रेयस अय्यरले १९ रनको योगदान दिए। प्रियांश आर्या १ र प्रभसिमरन सिंह १५ रन बनाएर आउट भए। गुजरातका बलरहरूमा जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। यसबाहेक कगिसो रबाडा र मोहम्मद सिराजले २-२ विकेट हासिल गरे। जवाफमा गुजरात टाइटन्सले १९.५ ओभरमा ६ विकेटमा १६७ रन बनाएर म्याच जित्यो। ओपनर साई सुदर्शनले ४१ बलमा सर्वाधिक ५७ रन बनाए। उनले ५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक वाशिंगटन सुन्दरले अविजित ४० रन बनाए। उनले २३ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। जोस बटलरले २६ रनको योगदान दिए। कप्तान शुभमन गिल ५ रन बनाएर आउट भए। पञ्जाब किंग्सका बलरहरूमा अर्शदीप सिंह र विजयकुमार व्यश्कले २-२ विकेट लिए।









