गान्तोक: राज्यको रम्फू थाना अन्तर्गत सिङ्गलेबुङ, बागेखोलामा एक स्थानीय व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात समूहले घरबाट नगदसहित सुनका गहनाहरू लुटेर फरार भएको घटना सार्वजनिक भएको हो।
प्रहरी रिपोर्टमा उल्लेख गरिएअनुसार अज्ञात आरोपीहरूले पीडितको घरलाई निशाना बनाउँदै ८० हजार रुपैयाँ नगद र सुनका बहुमूल्य गहनाहरू चोरी गरेका छन्। घरमा चोरी भएको थाहा पाएलगत्तै पीडितले सम्बन्धित थानामा पुगेर प्राथमिकी दर्ता गराएका थिए।
यस सम्बन्धमा प्रहरीले भारतीय न्याय संहिता २०२३ को धारा ३३१ र ३०५ अन्तर्गत मामला दर्ता गरी कानुनी कारबाही अघि बढाएको छ। घटनामा संलग्न फरार आरोपीहरूको पहिचान गर्न र उनीहरूलाई पक्राउ गर्न प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ।











