गान्तोक: जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा जिल्ला टिकाकरण कार्य बल (डीटीएफआई) र पीसीपीएनडीटी एक्ट, १९९४ अन्तर्गत जिल्ला सल्लाहकार समितिको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा स्वास्थ्य क्षेत्रका उपलब्धि र आगामी चुनौतीबारे गम्भीर छलफल गरिएको थियो।
जिल्लापाल तामलिङले टिकाकरण अभियानको समीक्षा गर्दै कुनै पनि योग्य लाभार्थी खोप सेवाबाट बञ्चित हुन नहुने बताइन्। उनले सक्रिय र समन्वित ढङ्गले काम गर्दै पूर्ण कभरेज हासिल गर्न सुदृढ सूक्ष्म योजना, नियमित अनुगमन र जवाफदेहितामा विशेष जोड दिइन्।
यसैगरी, पीसीपीएनडीटी ऐनको कार्यान्वयनमाथि कडा रुख अपनाउँदै जिल्लापालले नियम उल्लङ्घन गर्नेहरू प्रति प्रशासनले शून्य सहनशीलताको नीति लिने स्पष्ट पारिन्। उनले निदान केन्द्रहरूको निरन्तर निगरानी गर्न, नियम मिच्नेहरू विरुद्ध तत्काल कारबाही गर्न र जनचेतना फैलाउन सामुदायिक सहभागिता र आईईसी गतिविधिहरूलाई थप प्रभावकारी बनाउन निर्देशन दिइन्। बैठकमा सन् २०२५-२६ को अवधिमा निदान केन्द्रहरूको पञ्जीकरण र अनुगमनको स्थितिको समेत गहन समीक्षा गरिएको थियो।










