काठमाडौँ: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ। आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित एक विशेष समारोहका बीच सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रेस काउन्सिल नेपालका सह-प्रवक्ता रामशरण बोहरा र संस्थाका पूर्व अध्यक्षहरूले संयुक्त रूपमा भित्तेपात्रो विमोचन गरेका हुन्। सोही अवसरमा संस्थाले स्वर्गीय चुङ्बा शेर्पाको स्मृतिमा ३ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना समेत गरेको छ। स्वर्गीय शेर्पाकी छोरी क्याप्टेन बन्दा शेर्पा र छोरा छेवाङ शेर्पाले कार्यक्रममा उपस्थित भई ‘वाइल्डलाइफ फोटो पत्रकारिता पुरस्कार’ को घोषणा गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि महानिर्देशक छविन्द्र पराजुलीले नेपालको प्राकृतिक सुन्दरतालाई विश्वमाझ पुर्याउन फोटो पत्रकारिताले मेरुदण्डको काम गरेको उल्लेख गरे। उनले सिर्जनात्मक फोटोहरूको उचित संरक्षण र प्रवर्द्धन गर्न सके देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै फोटोहरूलाई इतिहास लेखनको बलियो आधारका रूपमा व्याख्या गरे। फोटो पत्रकारहरूलाई ‘फोटो बैंक’ को संज्ञा दिँदै पराजुलीले तस्वीर सङ्ग्रहालयहरूलाई व्यवस्थित गरी बैंकका रूपमा विकास गर्नुपर्ने सुझाव दिए।राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले डिजिटल युगको चुनौतीलाई स्विकार्दै फोटो पत्रकारहरू ‘स्मार्ट’ हुनुपर्नेमा जोड दिए। उनले आगामी वर्ष नेपालमा १०० जना अन्तर्राष्ट्रिय फोटो पत्रकारहरूलाई आमन्त्रण गरी सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। यसले नेपालको अन्तर्राष्ट्रिय छवि थप उचो बनाउने र एशियाली स्तरको फोटो पत्रकार संगठन निर्माण गरी आपसी सम्बन्ध बलियो बनाउन मद्दत पुग्ने वन्तको भनाइ थियो।कार्यक्रममा फोटो पत्रकार राजभाइ सुवालले पर्यटन र फोटो एक-अर्काका परिपूरक भएको बताउँदै ड्रोन फोटोग्राफी र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) जस्ता नयाँ प्रविधि सिक्न फोटो पत्रकारहरूलाई आग्रह गरे।

प्रेस काउन्सिल नेपालका सह-प्रवक्ता रामशरण बोहरा, पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरे लगायतले फोटो पत्रकारिताको व्यावसायिक मर्यादा र संस्थागत विकासका बारेमा आ-आफ्नो धारणा राखेका थिए।










