गान्तोक: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भ्रमणका क्रममा सोमबार सिक्किम आउने भएका छन्। सिक्किम भारतको २२औं राज्यका रूपमा स्थापना भएको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को वर्षव्यापी समापन समारोहमा सहभागी हुन उनी गान्तोक आउन लागेका हुन्। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को दोस्रो कार्यकालको सरकार गठन भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो सिक्किम भ्रमण हो।
प्रधानमन्त्रीको स्वागतका लागि राजधानी गान्तोकलाई दुलहीझैँ सिँगारिएको छ। राष्ट्रिय राजमार्ग–१० को मर्मत र सरसफाइका साथै सडक किनारका जोखिमपूर्ण रुखहरू हटाइएका छन्। सहरका मुख्य चोक र पदमार्गहरूमा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री प्रेमसिंह तामाङका ठूला होर्डिङ बोर्ड, ब्यानर र स्वागत गेटहरू निर्माण गरिएका छन्। सत्तारुढ एसकेएम र भारतीय जनता पार्टी (भाजपा) का झण्डाहरूले सडक र फुटपाथ भरिएका छन्।
निर्धारित तालिका अनुसार प्रधानमन्त्री मोदी सोमबार दिउँसो करिब ३ बजे लिभिङस्थित भारतीय सेनाको हेलिप्याडमा ओर्लिनेछन्। त्यहाँबाट उनी राष्ट्रिय राजमार्ग हुँदै देवराली, पानी हाउस र हस्पिटल डाँडा भएर लोकभवन पुग्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन मंगलबार राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने स्वर्ण जयन्ती समापन समारोहमा प्रधानमन्त्री मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्। सोही अवसरमा सिक्किमका ६ वटै जिल्लाबाट भेला भएका जनसमुदायलाई उनले सम्बोधन गर्नेछन् भने विभिन्न विकास निर्माणका आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्ने कार्यक्रम समेत तय गरिएको छ। प्रधानमन्त्रीको स्वागतका लागि राज्यभरका करिब २ हजार कलाकारहरूले सांस्कृतिक र देशभक्तिपूर्ण प्रस्तुति दिने तयारी गरेका छन्।
नेपाल, चीन र भुटानसँग सीमा जोडिएको संवेदनशील राज्य भएकाले प्रधानमन्त्रीको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। राजधानीका विभिन्न नाका र प्रवेशद्वार (चेकपोस्ट) हरूमा सघन जाँच सुरु गरिएको छ। राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले तयारीको निरन्तर अनुगमन गरिरहेका छन्। मुख्य सचिव आर. तेलाङ र वरिष्ठ अधिकारीहरूको टोलीले पाल्जोर स्टेडियमको वस्तुस्थिति निरीक्षण गरेको छ। प्रधानमन्त्रीको भ्रमण व्यवस्थापनका लागि भाजपाका राष्ट्रिय प्रवक्ता संबित पात्रा, सिक्किम प्रभारी डा. दिलीप जैसवाल र दार्जिलिङका सांसद राजु विष्ट गान्तोक आइपुगेका छन्।
सिक्किमले १६ मे २०२५ देखि आफ्नो स्थापनाको ५०औं वर्षगाँठ मनाउन सुरु गरेको थियो। गत वर्ष नै प्रधानमन्त्री मोदी आउने कार्यक्रम तय भए तापनि खराब मौसमका कारण उनी बागडोगराबाटै फर्किएका थिए। तत्कालीन समयमा उनले भर्चुअल माध्यमबाट सिक्किमे जनतालाई सम्बोधन गरेका थिए। यसपटक भने उनी भौतिक रूपमै उपस्थित हुन लागेकाले सिक्किममा विशेष उत्साह र सुरक्षा सतर्कता देखिएको छ।









