पाकिम: सिक्किमको पाकिमस्थित नाम्चेबुङ जीपीके हलमा सञ्चालित तीनदिने आवासीय तालिम ‘स्वच्छ माछा प्रशोधन तथा कोल्ड चेन र बजार सम्बन्ध समर्थनसहित मूल्य अभिवृद्धि’ शुक्रबार सम्पन्न भएको छ।
भारत सरकारको मत्स्य विभाग अन्तर्गतको नेशनल फिशरीज डेभलपमेन्ट बोर्ड (एनएफडीबी), उत्तर-पूर्वीय क्षेत्रीय केन्द्र गुवाहाटीको आयोजना र सिक्किम सरकारको मत्स्य विभागको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। तालिममा अनुसूचित जाति वर्गका २५ जना सहभागीहरूलाई माछाका विभिन्न मूल्य अभिवृद्धि गरिएका परिकारहरू तयार गर्ने व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं आईटी विभागका ओएसडी बुम छिरिङ योन्जोनले सहभागीहरूलाई तालिममा सिकेको सीप प्रयोग गरेर आत्मनिर्भर बन्न आग्रह गरे। उनले केन्द्र र राज्य सरकारका योजनाहरूको अधिकतम लाभ उठाएर आफ्नो जीविकोपार्जन सुधार गर्न सहभागीहरूलाई प्रेरित गरे।
तालिमका क्रममा एनएफडीबी गुवाहाटीका कार्यकारी सहायक शरद एसपीले माछाको गुणस्तर कायम राख्न उचित सफाई, फसलपछिको व्यवस्थापन र प्रभावकारी आइसिङ प्रविधिको महत्त्वबारे जानकारी दिएका थिए। कार्यक्रममा माछाको बल, अचार, कटलेट, झिँगाको चटनी र माछा फिङ्गर्स जस्ता परिकारहरू बनाउने प्रयोगात्मक प्रदर्शन समेत गरिएको थियो।








