बालबालिकाको मस्तिष्क विकासका लागि ‘स्क्रिन टाइम’ बाधक, गान्तोकमा सम्पन्न भयो पोषण पखवाडा

n709697792177696495520234629489d4c9f5c79a80f6005ef25ffba2d4f3d3965f5ad450a558a7a48a83b1

गान्तोक: बालबालिकाको सर्वाङ्गीण विकास र पोषणको महत्वबारे जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालित आठौँ ‘पोषण पखवाडा २०२६’ बिहीबार गान्तोकमा सम्पन्न भएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागको आयोजनामा गान्तोक ग्रामीण परियोजना अन्तर्गत क्योङ्सा आङ्गनवाडी केन्द्रमा विशेष समापन कार्यक्रम गरिएको हो।
​कार्यक्रममा विज्ञहरूले आधुनिक प्रविधिको बढ्दो प्रयोगले बालबालिकाको स्वास्थ्य र मानसिक विकासमा चुनौती थपेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सुपरभाइजर नोरसिङ तामाङले दैनिक जीवनमा मोबाइल फोनप्रतिको बढ्दो निर्भरता र यसले बालबालिकामा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पारिन्। उनले बालबालिकालाई डिजिटल स्क्रिनबाट टाढा राखेर खेलमा आधारित शिक्षामा जोड दिन अभिभावक र समुदायको भूमिका महत्वपूर्ण हुने बताइन्।
​तामाङले बालबालिकाको जीवनको पहिलो १,००० दिन ‘स्वर्ण समय’ भएको उल्लेख गर्दै यो अवधिमा पोषण र पूरक आहारमा ध्यान दिन सके मात्र भविष्यमा सबल नागरिक तयार हुने धारणा राखिन्। बालबालिकाको मस्तिष्क विकासका लागि प्रारम्भिक प्रोत्साहन र अभिभावकीय सामीप्यता अपरिहार्य रहेको उनको भनाइ थियो।
​त्यस्तै, कार्यक्रममा पोषण शिक्षिकाले कुपोषणका प्रकार र यसका रोकथामका उपायबारे विस्तृत जानकारी दिएकी थिइन्। उनले बालबालिकामा देखिने गम्भीर तीव्र कुपोषण (SAM) र मध्यम तीव्र कुपोषण (MAM) बाट जोगाउन पाँच प्रमुख खाद्य समूहको सन्तुलित प्रयोग गर्न सुझाव दिइन्। विशेष गरी भिटामिन सी युक्त आहार र मस्तिष्क विकासका लागि आवश्यक पोषक तत्वहरूमा जोड दिइएको थियो।
​गर्भवती महिलाहरूको स्वास्थ्यलाई लक्षित गर्दै कार्यक्रममा चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा आइरन र फोलिक एसिड सेवन गर्न आग्रह गरिएको छ। आङ्गनवाडी केन्द्रहरूलाई सशक्त बनाउन समुदायको सक्रिय सहयोग आवश्यक रहेको निष्कर्ष निकाल्दै कार्यक्रम समापन गरिएको थियो। समापन अवसरमा स्थानीय आमाहरू, स्वास्थ्य स्वयंसेविका र समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement