गेजिङ: गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाले बिहीबार योक्समस्थित महकुमा र खण्ड विकास अधिकारी (बीडीओ) कार्यालयको आकस्मिक भ्रमण गरी प्रशासनिक कार्यसम्पादनको समीक्षा गरेका छन्। भ्रमणका क्रममा जिल्लापालले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित विकास योजना र प्रशासनिक गतिविधिहरूको स्थलगत मूल्यांकन गरेका हुन्।
जिल्लापाल डेन्जोङ्पाले कार्यालयका विभिन्न शाखाहरूको निरीक्षण गर्दै कर्मचारीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै उनले कर्मचारीहरूलाई जनताको काममा निष्ठा र इमानदारीका साथ खट्न प्रेरित गरे। जिम्मेवारी निर्वाहका क्रममा कर्मचारीले भोग्नुपरेका चुनौतीहरूबारे समेत उनले चासो राखेका थिए।
प्रभावकारी शासन व्यवस्था र आम जनतासम्म सेवाको सहज पहुँच पुर्याउन विभिन्न विभागहरूबीच बलियो समन्वय हुनुपर्नेमा जिल्लापालले जोड दिए। उनले जनगुनासाहरूलाई प्राथमिकताका साथ समाधान गर्न र आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बन्न अधिकारीहरूलाई कडा निर्देशन दिएका छन्।
भ्रमणकै क्रममा जिल्लापालले बीएसी सम्मेलन हलको समेत निरीक्षण गरेका थिए। हलको अवस्था जीर्ण देखिएकाले उनले तत्काल मर्मत र स्तरोन्नतिका लागि आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिए। त्यसपछि उनले योक्समस्थित ‘रिसोर्स रिकभरी सेन्टर’ को समेत भ्रमण गरी फोहोर व्यवस्थापन र स्रोत परिचालनको अवस्थाबारे जानकारी लिएका थिए। जिल्लापालको यो सक्रियताले स्थानीय प्रशासनलाई थप गतिशील बनाउने विश्वास लिइएको छ।










