खरसाङ: भाजपालाई भोट हाल्नु आत्महत्या गरेको जस्तो हो भनेर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा समितिको सभापति सुरज घिसिङले बताएका छन्। उनले मंगलवार खरसाङमा पत्रकार सम्मेलन बोलाएर भाजपा गोर्खाहरुको लागि कहिले पनि ठीक नरहेको र गोर्खाहरुप्रति भाजपाको दृष्टिकोण एकदमै खराब रहेको बताएका छन्। उनले यसपालीको विधानसभा चुनावमा भाजपालाई कसैले पनि भोट नदिने आह्वान् गरेका छन्। उक्त पत्रकार सम्मेलनमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा समितिको सभापति सुरज घिसिङ, २९ नम्बर खरसाङ गिध्द समष्टिको सभापति सोनाम छिरिङ यल्मो, संयोजक साजन तामाङ उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा समितिको सभापति सुरज घिसिङले भाजपालाई भोट किन नदिनु पर्ने भन्ने विषयमा बोल्दै भने, भाजपा जस्तो पार्टी हो जसले गोर्खा जातिलाई मास्न गईरहेको छ। भाजपा पनि केवल जीटीएको पक्षमा छ। भाजपालाई भोट हाल्नु भनेको सुँगुरले जून हेर्नु जस्तै हो। किनभने भाजपाको बहुमतको सरकार हुँदा पनि केही दिएन।’
उनले क्षेत्रीय पार्टीहरुलाई अपिल गर्दै भाजपालाई भोट नहाल्न अनुरोध गरेका छन्। सुरज घिसिङले अघि भने, चामल दियो भनेर भाजपालाई भोट दिनु भन्छ। तर चामल दिनु र विकास दिनु त सरकारको दायित्व हो। तर भाजपाले गोर्खाहरुको भलो चाहँदैन। हामीले भाजपालाई विकासको लागि भोट दिएको होइन तर जातिय उन्मुक्तिको लागि अहिलेसम्म जिताएको हो।’
सुरज घिसिङले अझ भने, भाजपाले एसआईआर ल्याएर धेरैजना गोर्खाहरुको नाम काटेको छ। खरसाङ क्षेत्रमा मात्रै 24 सय जनाको नाम काटिएको बताए। भाजपा सरकारले हामीलाई धेरै शोषण गरेको छ। भाजपाले हामीलाई हेला होँचो गरेको छ। अब जनताले बुझ्नुपर्छ। त्यसैले भाजपालाई भोट हाल्नु हुँदैन।’
उनले अजय एडवर्ड्सको अगुवाईमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट क्षेत्रीयता बचाउन र माटो बचाउन चुनावमा आएका छन्। यसलाई हामीले युध्दको रुपमा लिएका छौँ। यसपाली खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईलाई भोट दिएर जिताउन आह्वान् गर्दछु।’
सुरज घिसिङले खरसाङ विधानसभा समष्टिको १६ वटा समष्टिहरुमा जनताबाट राम्रो रेस्पोन्स आएको र सबैतिर जनताले साथ दिईरहेका छन्। सबैतिर राम्रो छ। हामी विश्वस्त छौं हामी सय प्रतिशत जीत हाँसिल गर्नेछौँ।’
सुरज घिसिङले गृहमन्त्रीको वक्तव्य विषयमा सोधेका प्रश्नको उत्तरमा भने, गृहमन्त्रीको वक्तव्य केबल राजनीतिक स्टन्ट मात्र हो। एसआईआरमा डिलिट हुनेहरुको फाइनल हो। तर गृहमन्त्रीले केवल राजनीतिक फाइदाका लागि बोलेको मात्र हो।’










