मणिपुर: सोशल मीडियामा अफवाह फैलाउनेदेखि कर्फ्यू उल्लंघन गर्नेहरूसम्म पक्राउ, मणिपुरमा पुलिसको कडा एक्सन

What-are-my-Rights-when-I-am-Under-Arrest

इम्फाल: ​हिंसा प्रभावित मणिपुरमा शान्ति सुरक्षा कायम गर्न पुलिस र सुरक्षा बलले उग्रवादी, लागूपदार्थ तस्कर र सोशल मीडियामार्फत अफवाह फैलाउनेहरू विरुद्ध व्यापक अभियान सुरु गरेको छ। यसै क्रममा भ्रामक र उत्तेजक सामग्री पोस्ट गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ भने कर्फ्यू उल्लंघन गर्ने अन्य १९ जनालाई पनि पुलिसले नियन्त्रणमा लिएको छ।
​मणिपुर पुलिस मुख्यालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार ‘एल. अजित सिंह’ नामक फेसबुक अकाउन्टबाट सार्वजनिक व्यवस्था खलल पुग्ने खालका भड्काऊ सामग्रीहरू पोस्ट गरिएको पाइएको छ। सोही आरोपमा २९ वर्षीय लौरियम अजितकुमार सिंहलाई पक्राउ गरिएको हो। काङपोकपीको मोतबंग मामंग लिकाई स्थायी घर भई हाल ल्याम्बोई खोंगनांगखोंग राहत शिविरमा बस्दै आएका उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको पुलिसले जनाएको छ।
​पुलिसले साम्प्रदायिक सौहार्द बिगार्ने वा हिंसा भड्काउने प्रयास गर्ने जोकोहीलाई पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यसैगरी, ग्रेटर इम्फाल क्षेत्रमा गत १९ अप्रिलका दिन कर्फ्यूको उल्लंघन गर्ने, सडक अवरुद्ध पार्ने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्यमा संलग्न १९ जनालाई पनि पुलिसले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नोंगथोम्बम लोलिन मैतेई, समुराइलातपम सिबानन्द शर्मा र निंगथौखोंगजाम ऋषिकान्त मैतेईसहित २० देखि ५३ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।

​पुलिसले संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै राष्ट्रिय राजमार्ग–३७ बाट ३२९ वटा अत्यावश्यक वस्तु बोकेका सवारी साधनहरूको सुरक्षित आवागमन सुनिश्चित गरिएको समेत बताएको छ। नागरिकहरूलाई अफवाहको पछि नलाग्न र सुरक्षा निकायलाई सहयोग गर्न पुलिसले अपिल गरेको छ।

About Author

Advertisement