शोभाज्युले पनि बुझ्नुभयो अब पहाडमा झुक्याउने अनि छलको राजनिती टिक्दैन: अनित थापा
खरसाङ: गोजमुमो खरसाङ टाउन कमिटीकी सचिव शोभा छेत्री अनि उनको समूह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरेका छन्। शोभा छेत्री अनि अनित थापा एकसाथ राजनीतिमा रहेको बताइएको छ। शोभा छेत्री गोर्खा जनमुक्ति मोर्चाका सक्रिय नेत्री थिइन्। उनले २००७ सालदेखि नै पार्टीकी संस्थापक सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेकी हुन्। शोभा छेत्रीले आफ्नो राजनीतिक जीवनको सुरुवातमै खरसाङको १३ नम्बर वार्डबाट खरसाङ महकुमा शासक कार्यालयमा पहिलो आमरण अनशनमा सहभागी भएर आफ्नो संघर्षशील व्यक्तित्वको परिचय दिएकी थिइन्। संगठनात्मक जिम्मेवारीको दृष्टिकोणबाट हेर्दा उनले २००७ देखि २०१६ सम्म १३ नम्बर वार्डकी सचिवको दायित्व सम्हाल्नुका साथसाथै टाउनको कार्यकारिणी सदस्यको पदमा पनि कुशलतापूर्वक काम गरेकी थिइन्। यसका अतिरिक्त उनले २०११ देखि २०१६ सम्म खरसाङ नगरपालिकामा वार्ड पार्षदिकाको रूपमा जनताको सेवा गरिन्। पार्टीप्रतिको आफ्नो प्रतिबद्धता र संघर्षको क्रममा उनले ४ महिना जेल जीवन पनि बिताएकी थिइन्। यसका साथै ३ वर्षसम्म सेवा निलम्बनको पीडा पनि भोग्नु परेको थियो। यी सबै कठिनाइहरूका बाबजुद उनी आफ्नो राजनीतिक निष्ठामा अटल रहिन्। वर्तमान गोजमुमोको नारी संगठनको खरसाङ टाउन कमिटीको नेतृत्वमा शोभा छेत्री पार्टीका लागि सक्रिय रूपमा कार्यरत रहेकी छिन्।
शोभा छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाम सामेल भएपछि अनित थापाले भने, ‘शोभा छेत्री अनि म एकसाथ राजनीतिमा रहेका थियौँ। मैले मेरो राजनीतिक मार्ग परिवर्तन गरे तर उनी विमल दाज्युसँग नै रहे। पहाडको राजनीतिक परिवेश परिवर्तन भएको छ। राजनीतिक संस्कार अनि सोचमा परिवर्तन आएको छ। शोभाज्युले पनि बुझ्नुभयो अब पहाडमा झुक्याउने अनि छलको राजनिती टिक्दैन। तर अनित थापाको व्यावहारिक अनि रचनात्मक राजनीति नै पहाडको निम्ति हितकारी रहेको छ।’

अनित थापाले अघि भने, आज उहाँ आफ्नो समूहसँग फेरि एकपल्ट पहाडको निम्ति केही गर्नुपर्छ भन्ने सोच लिएर हामीसँग आबद्ध हुनुभएको छ। सबैलाई पार्टीमा न्यानो स्वागत गर्दछु।’










