लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर सिटी र लिभरपूलले रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले आर्सनलविरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। लीग च्याम्पियन बन्ने रेसमा अग्रिम पंक्तिमा रहने यी दुई टीमबीचको म्याचमा आशानुरुप रोचक प्रतिस्पर्धा भयो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीलाई शुरुमै बढ़त हासिल भयो। रेयान चेर्कीले १६औं मिनटमा होम टीमलाई गोल दिलाए तर आर्सनलले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। विपक्षी गोलकीपरको गल्तीलाई काममा लगाएर काई हावेर्त्जले १८औं मिनटमा गोल गरी आर्सनललाई बराबरीमा पुऱ्याए। मध्यान्तरसम्मको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि दोस्रो हाफको खेलमा होम टीमले फेरि बढ़त हासिल गऱ्यो। स्टार फरवर्ड एर्लिंग हालाण्डले ६५औं मिनटमा गोल गरी म्यानचेष्टर सिटीलाई २-१-को बढ़त दिलाए, जुन अन्तमा निर्णायक साबित भयो। म्याचमा आर्सनललाई भाग्यले पनि साथ दिएन अनि टीमले गोल गर्ने केही नजिकको मौकाहरू गुमायो। यस हारपछि पनि आर्सनल ३३ वटा म्याचमा ७० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी एउटा म्याच कम्ती खेलेर दोस्रो स्थानमा रहने सिटीसँग ६७ पोइण्ट्स रहेको छ। यसरी लीग विजेता बन्ने रेस अहिले चरम रोमाञ्चक बनेको छ।
यसरी लिभरपूलले एभर्टनलाई अन्तिम क्षणको गोलको सहायताले २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलको निम्ति पहिलो गोल अनुभवी मोहामेद सालाहले २९औं मिनटमा गरे अनि टीम मध्यान्तरसम्म १-०-ले अघि रहेको थियो। दोस्रो हाफको खेलमा चाहिँ होम टीमले पुनरागमन गऱ्यो। बेटोले ५४औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। रहल समयमा दुई टीमबीच रोचक प्रतिस्पर्धा भए पनि म्याच ड्र हुने लागिरहेको थियो तर इञ्ज्युरी टाइमको दशौं मिनटमा वर्जिल भान डिज्कले गोल गरेर लिभरपूललाई रोमाञ्चक जीत दिलाए। यस जीतको साथ लिभरपूल ३३ वटा म्याचमा ५५ पोइण्ट्सको साथ पाँचौं स्थानमा कायम रह्यो। यसरी एबर्टन ४७ पोइण्ट्सको साथ दशौं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा नटिंघम फरेष्टले बर्नलीलाई ४-१-ले अनि एस्टन भिल्लाले सण्डरल्याण्डलाई ४-३-ले पराजित गऱ्यो।










