सिक्किम अकादेमीद्वारा म्युजियोलोजीमा पहिलोपटक प्यानल छलफल: सम्पदा संरक्षणमा जोड

n708972690177653209548144e6b8ea9490e3d5042726843880c8815e8bcb660fe7bdd326e54c1bbba2cfa8

गान्तोक: सिक्किम अकादेमीले राज्यमै पहिलोपटक ‘म्युजियोलोजी’ (सङ्ग्रहालय विज्ञान) विषयमा विशेष प्यानल छलफल आयोजना गरेको छ। कला, सम्पदा र संस्कृतिसँग सम्बन्धित विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर सङ्ग्रहालयसम्बन्धी चेतना र संवाद प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
​छलफलमा गान्तोकका कलाकार तथा अनुसन्धानकर्ता सेवान राई र नाम्चीस्थित हेरिटेज ह्यान्डिक्राफ्ट म्युजियमकी सहायक शाखा निरीक्षक पेमा केसाङ शेर्पाले प्यानलिस्टका रूपमा धारणा राख्नुभएको थियो। रिनाकस्थित राम गौरी सङ्ग्रहालयका स्वामी गणेश प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार एवं कवि प्रवीण खालिङले गर्नुभएको थियो।
​वक्ताहरूले सिक्किमको सांस्कृतिक सम्पदा संरक्षणमा आधुनिक म्युजियोलोजीको अपरिहार्यतामाथि प्रकाश पारेका थिए। उनीहरूले परम्परा जोगाउन सङ्ग्रहालयको भूमिका, क्युरेसन (वस्तु सङ्ग्रह र व्यवस्थापन) का चुनौती र यसमा समुदायको सहभागिता हुनुपर्नेमा जोड दिए। सिक्किममा अझै व्यवस्थित सङ्ग्रहालयहरूको आवश्यकता रहेको भन्दै यस विषयमा गम्भीर ध्यानाकर्षण समेत गराइएको थियो।
​सिक्किममा म्युजियोलोजीसम्बन्धी औपचारिक र प्राज्ञिक छलफलको यो सुरुवातलाई सांस्कृतिक जागरणको एउटा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। यसले आगामी दिनमा राज्यका ऐतिहासिक र सांस्कृतिक महत्त्वका वस्तुहरूको वैज्ञानिक संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

About Author

Advertisement